detail-img

सहकारी आत्मनिर्भर अर्थतन्त्रको जगः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय पुँजी निर्माण गर्ने एउटा आधार सहकारी भएको र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सहकारी अत्यन्त उपयोगी रहेको बताउनुभएको छ । 
आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पार्टीको सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको ‘सहकारीकर्मीसँग केपी ओली’ कार्यक्रममा अध्यक्ष ओलीले देशमा भोकमरी अन्त्य गर्नु पार्टीको पहिलो उद्देश्य रहेको र गरिबी न्यूनीकरण गर्दै अन्त्य गर्नु दोस्रो उद्देश्य रहेको स्पष्ट गर्नुभयो ।  यो उद्देश्य पूरा गर्नसक्दा सन्तोषको सास फेर्न सकिने र देशमा गरिबी छैन भनेर गर्वका साथ  भन्न पाइने उहाँको भनाइ छ । अध्यक्ष ओलीले सहकारीको माध्यमबाट गरिबी निवारणको क्षेत्रमा लक्ष्य र उद्देश्य तोकेर कार्ययोजना तर्जुमा गर्न विभागलाई निर्देशन पनि दिनुभयो ।


उहाँले सरकारी, सहकारी र निजीक्षेत्र गरी तीनखम्बे अर्थनीति अवलम्बन गरिएको चर्चा गर्दै सहकार्य र सहकारी मार्फत गरिबी निवारण गर्नुपर्ने वताउनुभयो । 
अध्यक्ष ओलीले हिजोका दिनमा परिवार नै उत्पादनको इकाइका रूपमा रहेको र आत्मनिर्भर अर्थतन्त्र रहेको प्रसंग जोड्दै अहिले त्यो अवस्था नरहेको र कृषिका लागि उर्बर जमिन बाँझै रहेकाले उक्त जमिन सदुपयोगका लागि भूमि बैङ्कको अवधारणा अगाडि सारिएको स्पष्ट गर्नुभयो । उहाँले सहकारी आत्मनिर्भर अर्थतन्त्रको जग भएको वताउँदै कृषि उत्पादनलाई आत्मनिर्भर हुनेसम्म बनाउन योजना बनाएर सहकारीमार्फत काम गर्नुपर्ने वताउनुभयो ।  
नेपाली कांग्रेस सैद्धान्तिक र नीतिगत हिसावले सहकारीको पक्षमा नरहेको र माओवादीलाई नीतिसँग सरोकार नै नभएको र फाइदामा विश्वास गर्ने वताउँदै अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले दलाल पुँजीवादीका लागि राष्ट्रिय पुँजीपतिहरूलाई दुःख दिएको बताउनुभयो । 
राष्ट्रिय पुँजीलाई राज्यले संरक्षण गर्नुपर्नेमा अरुको स्वार्थका लागि राज्यले छानीछानी राष्ट्रिय पुँजीपतिहरूलाई दुःख दिने काम गरेको उहाँको भनाइ छ । 
ललिता निवासको जग्गा व्यक्तिका नाममा गर्न निर्णय गर्नेहरू ठूलो स्वरमा कराउँदै हिडिरहेका तर दोस्रो तेस्रो व्यक्तिको नाममा पुगी सकेको किन्ने मीनबहादुर गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने कुनै कारण नभएको अध्यक्ष ओली भनाइ थियो । 
उहाँले भन्नुभयो– यती होल्डिङलाई खेद्नेहरू दलाल पुँजीवादी हुन् । भारी बोकेर हिड्ने शेर्पाले भारी नै बोक्नुपथ्र्यो भन्ने हो । हेलिकोप्टर चलाएको, होटल चलाएको देखिनसहेका हुन् । माओवादीहरू गायत्री मन्त्र जप्दैनन्, गायत्रीमन्त्रका रूपमा ओम्नी ओम्नी जपिरहन्छन् । 
ललिता निवास जग्गा प्रकरणमा कारवाहीका नाममा दलाल पुँजीवादीको दलाल सरकारले तमासा गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । उहाँले भन्नुभयो– यो राजनीतिक फण्डा हो, यिनको टुप्पी दलाल पुँजीवादीले समातेका छन् । 
मुलुकको अर्थतन्त्र गठबन्धन सरकारले विगारेको र सरकार उद्योगहरूमाथि चट्याङ परेजस्तो भएको वताउँदै अध्यक्ष ओलीले उद्यमी, व्यवसायीहरू अफ्ठ्यारोमा परेको यस अवस्थामा बैंकहरूले सहयोग गर्नुपर्ने वताउनुभयो । 
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य, केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारीले विभागले तयार गरेको सहकारी सम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै एमालेका हरेक कार्यकर्ता स्थानीय तहमा कुनै न कुनै सहकारीमा आवद्ध हुनु आवश्यक रहेको वताउनुभयो । 
उहाँले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने र कार्यकर्ता त्यसमा जोडिने अभियान चलाउनुपर्ने वताउनुभयो । नेता अधिकारीले  सहकारी क्षेत्रका समस्या, चुनौती र समाधानका उपायका बारेमा प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवाली लगायत नेताहरूको उपस्थिति रहेको थियो ।