detail-img

नेपालको नयाँ नक्शाप्रति समर्थन जनाउन महासचिव पोखरेलको चीनलाई आग्रह

बेइजिङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो । 
भेटमा महासचिव पोखरेलले नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भूभाग समेटी ‘चुच्चे’ नक्शा जारी गरेको  जानकारी गराउँदै त्यसमा चीनको साथ समर्थनका लागि आग्रह गर्नुभएको छ । 
महासचिव पोखरेलले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएका सहमति, सम्झौता छोटो कार्यान्वयन होउन् भन्ने एमालेको चाहना रहेको स्पष्ट गर्नुभयो । 
सो अवसरमा सीपीसीको विदेश विभाग प्रमुख लिउले दुई देशका उच्चस्तरीय भ्रमणको समयमा भएका सहमति, सम्झौता छिटो कार्यान्वयनका लागि अधिकतम प्रयास रहने वताउनुभयो । उहाँले नेपालको विकास र समृद्धि यात्रामा चीनको साथ सहयोग रहने भनाइ राख्नुभयो ।


महासचिव शंकर पोखरेलले राख्नुभएको धारणाः 
–१८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरे अनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रूपमा जारी गरेका छौं । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरूको पनि सामना गर्नुपरेको छ । हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौं । हामी एक चीनको पक्षमा दृढ छौं । नेपालको भूमिबाट चीन विरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छांै ।
–नेकपा (एमाले) असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहन्छ । 
–नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्ति बनाउनका लागि हामीले मिसन ग्रासरुट अभियान सञ्चालन सम्पन्न गरेका छौं । यो अभियानले पार्टीमा नयाँ सञ्चार र उत्साह प्रदान गरेको छ । फेरि हामीले मिसन २०८४ अभियान सुरु गरेका छौं । २०८४ सालको आमनिर्वाचनमा हामी निर्वाचनमार्फत बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गरी नेपाली जनताको विकास र समृद्धिको सपना पूरा गर्ने लक्ष्यसहित क्रियाशील छौं । 
–हाम्रो अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको चीन भ्रमण र महामहिम चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा छौं । 
सीपीसीका विदेश विभाग प्रमुख लिउ जियनचाओको भनाइः 
–एक चीन नीतिमा दृढ रहेकोमा नेकपा (एमाले) लाई धन्यवाद ।
–नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ । यसलाई हामी नयाँ उचाइँमा लैजान चाहन्छौं ।
–चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरू पनि छन् । 
–हाम्रो राष्ट्रपति महामहिम सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरू र तपाईहरूका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन होस् भन्नेमा हामी दृढ छौं । ती सहमति, सम्झौताहरू कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ ।
–नेपाल र चीनको घनिष्ठ सम्बन्ध छ । नेपाल चीनको राम्रो मित्रशक्ति हो । राज्यस्तरमा रहेको हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनुपर्छ ।
–दुई पार्टीका उच्चस्तरीय नेताहरूको भ्रमणलाई अझ बढाउनुपर्छ ।
–चीन सधैंभरि शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको छ  । भबिष्यमा पनि तपाईहरूले यसतर्फ चाल्ने पाइलामा सधैं साथ र सहयोग रहनेछ ।
महासचिव पोखरेल नेतृत्वको भ्रमण दल आज छिन्हाई शहर जानेछ । त्यहाँ आयोजित कार्यक्रमलाई महासचिव पोखरेलले सम्बोधन गर्नु हुने छ । 


महासचिव पोखरेल आइतबार तियानमेन स्क्यायर जानुभई चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता अध्यक्ष माओत्सेतुङप्रति सम्मान प्रकट गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।