detail-img

तेजाव आक्रमणका घटना नियन्त्रण गर्न समाजमा सचेतना आवश्यकः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानिस बौद्धिक र सचेत प्राणी भए पनि कतिपय मानिसहरूले आफ्नो स्वार्थका लागि मानवताविरूद्धको अपराध गर्ने गरेको वताउनुभएको छ । 
तेजाब आक्रमणविरुद्ध सचेतना दिवसका अवसरमा आज  पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले २१औं शताब्दीमा पनि खासगरी महिला र बालिकामाथि तेजाव, एसिड आक्रमणजस्तो बीभत्स र जघन्य अपराध हुनु दुःखको कुरा हो भन्नुभयो । 
आफू प्रधानमन्त्री रहेको समयमा अध्यादेशमार्फत् यस्ता जघन्य आक्रमणका घटना नियन्त्रण र दोषीलाई कडा कारबाही हुने कानुन बनाएर कार्यान्वयनमा ल्याएको स्मरण गर्दै अध्यक्ष ओलीले त्यसयता तेजाव आक्रमणका घटनामा कमी आएको अनुभव गरिएको वताउनुभयो । 
उहाँले तेजाव आक्रमणविरुद्ध कडा सजाय छ भन्ने कुराको समाजमा सचेतना आवश्यकता रहेको वताउँदै समाज सचेत, जागरुक र संयम हुँदै जाँदा यस्ता अमानवीय आक्रमण बन्द हुनेछन् भन्ने आफ्नो अपेक्षा रहेको वताउनुभयो ।


जनताका समस्या र सामाजिक कुरामा वर्तमान सरकारको ध्यान नभएको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– तेजाव आक्रमणका पीडितहरूलाई सरकारले गरी खान सक्नेलाई गरी खाने वातावरण बनाइदिनुपर्छ, काम गर्ने अवसर दिनुपर्छ, नसक्नेको लालनपालन, निःशुल्क औषधोपचार गर्नुपर्छ ।  
मानव जाति सामाजिक सद्भाव कायम गरेर बस्नुपर्नेमा देशका अन्तरकुन्तरमा आपराधिक प्रवृत्ति देखापर्ने गरेको र देशमा शान्ति सुरक्षा कायम गर्न खटिएको नेपाल प्रहरीका डीएसपी र उहाँको परिवारलाई मार्ने धम्की दिँदा पनि वर्तमान सरकार त्यस्ता मान्छेलाई नियन्त्रणमा लिनुको सट्टा आपराधिक गतिविधिलाई प्रोत्साहन गरिरहेको अध्यक्ष ओलीको  भनाइ छ । 
असामाजिक, अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिन भन्दा सुरक्षाकर्मी र उहाँको परिवारलाई मार्ने धम्की दिनु आतङ्ककारी क्रियाकलाप बाहेक केही नभएको र यस्तो धम्की दिँदा पनि सरकार कानमा तेल हालेर बसिरहेकोमा अध्यक्ष ओलीले आश्चर्य प्रकट गर्नुभयो । 
सरकार आफैंले यस्ता अपराध बढाइरहेको भन्दै उहाँले सरकारलाई प्रश्न गर्नुभयो– सुरक्षाकर्मीको सपरिवार मार्छु भन्दा पनि त्यस्तो मान्छेलाई कारबाही खोइ ?
अध्यक्ष ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि सरकारले नै संरक्षण दिएको वताउनुभयो । उहाँले भन्नुभयो– वर्तमान सरकार तस्करको संरक्षण र कमिसनको चक्करमा लागेको छ । 
अध्यक्ष ओलीले सरकारलाई स्टन्डबाजी छाडेर सुशासनको पक्षमा काम गर्न सुझाव दिनुभयो ।  
उहाँले नेपाली–नेपालीबीच जात, भाषा, धर्म, सम्प्रदायको र आस्थाको नाममा द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको बताउनुभयो । 
सो अवसरमा कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले तेजाव आक्रमण जस्ता जघन्य अपराध नियन्त्रणका लागि समाजमा जागरण ल्याउन र पीडितलाई सहयोग उपलब्ध गराउने कुरामा छलफल हुनु आवश्यक रहेकाले कार्यक्रम आयोजना गरिएको वताउनुभयो ।  
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य अग्नि खरेल र पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोले अध्यक्ष ओली नेतृत्वको सरकारका समयमा तेजाव आक्रमण विरुद्ध कानुन निर्माण र पीडितलाई न्याय दिने सन्दर्भ  भएका कामको चर्चा गर्नुभएको थियो । 
पार्टीका पोलिटव्यूरो सदस्य तथा केन्द्रीय सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग प्रमुख सुशीला नेपालको सभापतित्वमा भएको कार्यक्रममा तेजाव आक्रमण पीडितहरू सांसद विन्दवासिनी कंसाकार, मुस्कान खातुन, जेनी खड्का लगायतले कानुन निर्माणबाट धेरै महत्वपूर्ण काम भएको र यसलाई अझ व्यापक गरी जलनका सबै घटना समेट्ने गरी सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।