detail-img

उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधन

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गएराती निधन भएको छ । 
बालुवाटारस्थित निवासमै राती करिव १ बजे हृदयघात भएपछि नेम्वाङलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको र राती १ः४० बजे निधन भएको अस्पतालले जानकारी गराएको छ । उहाँ ७१ बर्षको हुनुहुन्थ्यो । प्रतिनिधि सभा सदस्यमा इलाम क्षेत्र नं २ बाट निर्वाचित सांसद नेम्वाङ नेकपा (एमाले) संसदीय दलका उपनेता समेत हुनुहुन्थ्यो । 
संविधान सभाका अध्यक्ष समेत रहनुभएका उपाध्यक्ष नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । 
उपाध्यक्ष नेम्वाङको अप्रत्यासित निधनको दुःखद खबर सुन्नेवित्तिकै अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुग्नुभएको थियो । त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेकपा (एमाले) र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू शिक्षण अस्पताल, महाराजगञ्ज पुग्नुभएको थियो । 
नेम्वाङ २००९ फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिनुभएको हो ।  २०४८ र २०५२ सालमा गरी दुईपटक राष्ट्रिय सभाको सदस्य हुनुभएका नेम्वाङ २०५६ मा इलामबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ २०६३ सालको पुनर्स्थापित प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो । उहाँ २०६४ र २०७० सालमा भएका दुईवटा संविधान सभा निर्वाचनमा पनि इलाम–२ विजयी बनेर संविधानसभा अध्यक्ष बन्नुभई संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । 
उपाध्यक्ष नेम्वाङ २०७४ र २०७९ का प्रतिनिधि सभा सदस्यमा पनि इलाम–२ बाट निर्वाचित हुनुभएको थियो । 
राजनीतिक जीवनमा नेम्वाङले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारीसमेत वहन गर्नुभएको थियो ।  
उहाँ गत पुस २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएको थियो । 
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति हुनुभएको थियो । राजनीतिकै क्रममा २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको उहाँ तत्कालीन नेकपा मालेमा संगठित हुनुभएको थियो ।
२०५४ को छैटौं महाधिवेशनदेखि उहाँ निरन्तर पार्टीको  केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो । २०७१ सालमा भएको पार्टीको नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य हुनुभएका नेम्वाङ २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित हुनुभएको होे ।