detail-img

उपाध्यक्ष नेम्वाङको अन्त्येष्टी राजकीय सम्मानका साथ विहीबार गरिने

अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा पार्टीको झण्डा ओढाउनुका साथै पुष्पगुच्छा अर्पण, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख देवराज घिमिरे, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरू, विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू तथा उच्चपदस्थ अधिकारीहरू सहित ठूलो सङ्ख्यामा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणद्वारा स्व. नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टी पर्सि भदौ २८ गते बिहीबार गरिने भएको छ । 
संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभाका पूर्व सभामुख समेत रहनुभएका नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ । 
गएराती असामयिक निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि आज दिनभर उहाँको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा राखिएको थियो । 
स्व. नेम्वाङले पार्टी, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदानको उच्चसम्मान गर्दै  अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाउनुका साथै पुष्पगुच्छा अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पार्टी कार्यालय जानुभई स्व. नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

त्यसैगरी, नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरू, विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू तथा उच्चपदस्थ अधिकारीहरू सहित ठूलो सङ्ख्यामा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणले स्व. नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । 
श्रद्धाञ्जली अर्पणका लागि स्व. नेम्वाङको पार्थिव शरीर भोलि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने छ भने त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि बालुवाटारस्थित निवासमा राखिने भएको छ ।