detail-img

चीन भ्रमण छोट्याई महासचिव पोखरेल स्वदेश फिर्ता 

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको सद्भावना भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भ्रमण कार्यक्रम छोट्याएर आज स्वदेश फर्कनुभयो । 
महासचिव पोखरेल पार्टीका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित र असामयिक निधन भएका कारण भ्रमणका बाँकी कार्यक्रम छोट्याएर स्वदेश फर्कनुभएको हो । 
पार्टीका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष नेम्वाङको असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले महासचिव पोखरेलमार्फत् स्व.नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ । 
महासचिव पोखरेलको चीन भ्रमणमा क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओ, पोलिटव्यूरो सदस्य युआन जियाजुन लगायत नेताहरूसँग भेटवार्ता हुनुका साथै विचार आदानप्रदान र द्विपक्षीय हितका विषयमा कुुराकानी भएको थियो । 
महासचिव पोखरेलले भ्रमण आपसी सम्बन्ध थप सुदृढ बनाउन र विगतमा दुई देशबीच उच्चस्तरीय भ्रमणका समयमा भएका सहमति, सम्झौता कार्यान्वयनका विषयमा छलफल गर्ने अवसर बनेको वताउनुभयो । भेटवार्तामा नेपालको नयाँ नक्शा (चुच्चे नक्शा)प्रति साथ र समर्थन जनाउन आग्रह गरिएको महासचिव पोखरेलले वताउनुभयो । 
चिनियाँ नेताहरूसँगको भेटमा महासचिव पोखरेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनमा सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गर्नुभएको थियो । महासचिव पोखरेलले सीपीसीका विदेश विभाग प्रमुख लिउसँगको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएका सहमति, सम्झौता छिटो कार्यान्वयन होउन् भन्ने एमालेको चाहना रहेको स्पष्ट गर्नुभएको थियो । 
सो अवसरमा सीपीसीको विदेश विभाग प्रमुख लिउले दुई देशका उच्चस्तरीय भ्रमणको समयमा भएका सहमति, सम्झौता छिटो कार्यान्वयनका लागि अधिकतम प्रयास रहने वताउनुभएको थियो । उहाँले नेपालको विकास र समृद्धि यात्रामा चीनको साथ सहयोग रहने भनाइ राख्नुभएको थियो ।
यसैगरी, बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश विभागमा आयोजित अन्तक्र्रिया कार्यक्रममा महासचिव पोखरेलले चिनियाँ नेताहरूलाई विश्व शान्ति स्थापनाको लागि दक्षिण एसियामा गरिबी निवारण कार्यक्रम र परियोजना सञ्चालन गर्न सुझाव दिनुभएको थियो ।  
विश्व र दक्षिण एसियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गर्नुहुँदै त्यसका लागि चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
महासचिव पोखरेलले छोङछिङमा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनसँगको भेटवार्तामा छोङछिङबाट नेपालका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र गौतमबुद्ध विमानस्थलबाट सिधा छोङछिङ उडानको प्रस्ताव राख्नुभएको थियो ।  
उहाँले चीनको मुख्य शहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदानप्रदान र अन्तक्र्रिया  कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनको स्थापना, विकासक्रम र उपलब्धिका साथै पार्टीको नीति, विचार र गन्तव्यका सम्बन्धमा विचार राख्नुभएको थियो । 
महासचिव पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) को आलोकमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्यसहित नेकपा (एमाले)ले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको जानकारी गराउँदै नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभएको थियो ।
उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको विकासमा  मुख्य तीन मोडहरूका बारेमा चर्चा गर्नुभएको थियो । 
पार्टी स्थापना र संगठन निर्माणमा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, विचार निर्माणमा जननेता मदन भण्डारी र समृद्धि यात्राको थालनीमा अध्यक्ष केपी शर्मा ओलीको दूरदर्शी दृष्टिकोणका बारेमा महासचिव पोखरेलले जानकारी गराउनुभयो । 
त्यस्तै महासचिव पोखरेलको पहल र आग्रहमा छोङछिङस्थित ‘छोङछिङ थ्रि गर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमूलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।