detail-img

महासचिव पोखरेलद्वारा उपाध्यक्ष स्व. नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

उपाध्यक्ष स्व. नेम्वाङको शवयात्रा बालुवाटारबाट महाराजगञ्ज–धुम्वाराही–चावहिल–गौशाला हुँदै पशुपति आर्यघाट 
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङप्रति आज पार्टीका महासचिव शंकर पोखरेल, विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, सामाजिक क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरू, पार्टीका नेताकार्यकर्ताहरू लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभयो । 
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका महासचिव पोखरेल उपाध्यक्ष नेम्वाङको असामयिक निधनका कारण भ्रमण छोट्याई आजै स्वदेश फर्कनुभएको हो । महासचिव पोखरेलले स्व. नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो । 
उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । त्यसपछि उहाँको पार्थिव शरीर बालुवाटारस्थित निजी निवासमा राखिएको छ । 
संविधान सभाका अध्यक्ष स्व.नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा आज पनि विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो सङ्ख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रह्यो ।  
उपाध्यक्ष नेम्वाङको अन्त्येष्टी भोलि भदौ २८ गते विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिनेभएकोे छ । 
उहाँको शवयात्रा त्यसअघि नै हुने हुँदा शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन अनुरोध गरिएको छ । 
शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट रहेकोे छ ।