detail-img

उपभोक्ताको हित संरक्षणका दृष्टिले वर्तमान सरकार गैरजिम्मेवार छः अध्यक्ष ओली

काठमाडौं । नेकपा .(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य प्रमुखरूपमा सरकारको भए पनि वर्तमान सरकार उपभोक्ताप्रति गैरजिम्मेवार रहेको वताउनुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय उपभोक्ता हित तथा सुशासन विभागद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ‘बढ्दो महङ्गी र उपभोक्ता हितको सवाल’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले नेकपा (एमाले) प्रतिपक्षमा हुँदा पनि उपभोक्ताप्रतिको आफ्नो कर्तव्य पूरा गर्ने वताउनुभयो । 
जनताले कुशासन भोग्न नपरोस्, शान्ति सुरक्षा पाउन्, जनताका सबैखालका अधिकार सुरक्षित हुनुपर्छ भनेरै  आफू राजनीतिमा लागेको स्पष्ट गर्दै अध्यक्ष ओलीले जनताको सम्मानित, सुखी जीवनका लागि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई गन्तव्य बनाएर अगाडि बढेको वताउनुभयो ।  
उहाँले मानव जाति नै उपभोक्ता भएको र आर्थिक रूपमा कमजोर उपभोक्ता मूल्यबृद्धि हुँदा बढी मर्कामा पर्ने वताउँदै कमजोरलाई माथि उठाउन गरिबी निवारण पहिलो प्राथमिकताको विषय हुनुपर्ने धारणा राख्नुभयो ।


चाडवाडको समयमा उपभोक्ता कृत्रिम अभाव र मूल्यवृद्धिको मारमा बढी पर्ने गरेको प्रसङ्ग उठाउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेको समयमा तीन लाख मेट्रिक टन चिनी मौज्दात रहेको जानकारी गराउँदै चिनी आयात रोकिदिनुपर्यो भनेका मान्छेहरू दशैंमा चिनी अभाव हुँदा बेपत्ता भएको र धोका दिएको घटना सुनाउनुभयो । उहाँले भन्नुभयो– यस्ता प्रवृत्तिलाई पनि रोक्नुपर्छ । 
‘उपभोक्ता कृत्रिम अभाव र मूल्यबृद्धिका कारण मर्कामा नपरून्, चाडवाड खुसीसाथ मनाउन सकून्,’ यस्तो वातावरणका लागि आफूले सरकार र प्रधानमन्त्रीसँग कुरा गर्ने अध्यक्ष ओलीको वताउनुभयो । 
अध्यक्ष ओलीले पार्टीका तर्फबाट उपभोक्ता जागरणको काम अभियानका रूपमा जनतामा लैजाने वताउनुभयो । उहाँले भन्नुभयो–पार्टीका हरेक तहका कार्यकर्तालाई उपभोक्ता हितको विषयमा सजगता अपनाउन लगाइने छ । 
अध्यक्ष ओलीले उपभोक्ता हितको क्षेत्रमा काम गर्ने संघसंस्था र अभियन्तालाई उत्पादक, व्यवसायी र उपभोक्ताका समस्या पार्टीमा जानकारी गराउन आग्रह गर्दै ती विषय संसदमा उठाइने तथा सरकारको ध्यानाकर्षण गराइने छ भन्नुभयो । 
पशुपतिमा सुनको जलहरि जडान भएको विषयलाई पित्तलको भनी सबैको ध्यान त्यता मोडेर त्रिभुवन विमानस्थल भन्सार हुँदै सुन ओसारपसारको उद्यममा सरकारका मान्छे लागेको वताउँदै उहाँले भन्नुभयो– चिल आयो, चिल आयो भनी चिलतिर देखाएर कुखुरा उडाउने तरिका राज्यबाट भइरहेको छ । यो स्थितिलाई सच्याउनु जरूरी छ । 
विचार गोष्ठीमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक मन्दीको अवस्थामा पनि मूल्यबृद्धि हुनु सरकारको अकर्मण्यता भएको वताउनुभयो । 
अर्थविद् खतिवडाले सरकारले चालू बजेटमा आधारभूत कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइदिएको वताउँदै सरकारले नै वस्तु उत्पादनको लागत बढाइदिएको छ भन्नुभयो । उहाँले उत्पादक र उपभोक्ताबीचको खाडल कम गर्न उत्पादन लागत घटाउने, विचौलियाको भूमिका नरहने स्थिति सिर्जना गर्दा उपभोक्ताले सस्तोमा सामान पाउने वताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा उद्योग, बाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले हरेक ठाउँमा उपभोक्ता ठगिएकाले त्यसको तत्काल सुनुवाइका लागि उपभोक्ता अदालत स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले उपभोक्ताहरू अधिकार र हकहितका विषयमा अनभिज्ञ रहेकाले विभागबाट जागरण अभियान चलाउन सुझाव दिनुभयो । उद्योगी, व्यवसायी समेत रहनुभएका दुगडले विपन्न वर्गका लागि राज्यबाट राशन कार्डको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । 
छलफलका क्रममा प्रधानमन्त्रीका नातेदारले नेपाल ग्यासको स्वामित्व लिएपछि राज्यशक्तिको दुरुपयोग गरेर ५० केजीका सिलिण्डर बनाउन थालिएको र यो उपभोक्ताका लागि अत्यन्त जोखिम रहेको विषय उठाइएको थियो । त्यस्तै, चिनी लगायत उपभोग्य सामानमा भइरहेको मूल्यवृद्धि, चाडवाडमा मात्र हुने गरेको बजार अनुगमन, करका दरमा भएको बृद्धिले पनि उपभोक्ता मर्कामा पर्ने गरेको विषय छलफलमा उठाइएको थियो । 
नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष अन्जन श्रेष्ठले राज्यले लिएको गलत नीतिका कारण मूल्यबृद्धि भएको, करका दर बढाउँदा उपभोक्ता मर्कामा परेको वताउनुभयो । 
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँले उपभोक्ताको दृष्टिकोणले देश राज्यविहीनताको अवस्थामा रहेको वताउनुभयो । 
नेपाल यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नारायणघाट–बुटवल र  काठमाडौं–पोखराको सडक दुरावस्थाको ध्यानाकर्षण गराउँदै बाटोको प्रत्याभूति नगरी दशैँका लागि बसको टिकट अग्रिम बुकिङ नखोल्ने चेतावनी दिनुभयो । 
विचार गोष्ठीमा उपभोक्ता हितका अभियन्ता प्रेमलाल महर्जनले उद्योग, व्यापार, व्यवसाय बन्द हुँदै गएको तर  न्यूरोडमा सुन पसल सिगार्नै करोड खर्च गर्ने गरेकाले कतै सुन तस्करी गर्नेहरूकै संलग्नता सुन पसलमा पनि त छैन भनी आशङ्का व्यक्त गर्नुभयो । उहाँले  सुशासन सिंहदरबारबाट बाहिर ननिस्केको र उपभोक्ताको अधिकार सिंहदरबारभित्र सीमित रहेको वताउनुभयो । 
पार्टीका पोलिटव्यूरो सदस्य तथा विभाग प्रमुख जितु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा हरेक क्षेत्रमा उपभोक्ता मर्कामा परेका विषय समेटेर विभागका तर्फबाट तयार गरिएको कार्यपत्र विभागका सदस्य विष्णु तिमिल्सिनाले प्रस्तुत गर्नुभएको थियो भने सचिव मोहिनी खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।