detail-img

राष्ट्रिय अर्थतन्त्र हरहिसावले सुदृढ बनाउनुपर्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको मुद्रा बलियो बनाउन अर्थतन्त्र बलियो बनाउनुपर्ने वताउनुभएको छ । 
नेकपा (एमाले)को परराष्ट्र मामिला विभागले आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको समसामयिक अन्तर्राष्ट्रिय विषयमा प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्र हरहिसावले सुदृढ बनाउनुपर्ने वताउनुभयो । 
उहाँले भन्नुभयो– व्यापार सन्तुलन कायम गर्न निर्यात बढाउनुपर्छ, त्यसका लागि काफी मात्रामा उत्पादन बढाउनुपर्छ । निर्यात बढाउनुका लागि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आधारभूत कुरामा आत्मनिर्भर हुनुपर्छ । उपभोग गर्नुपर्ने वस्तु किन्न नपर्ने गरी उत्पादन गर्नुपर्छ । 
शिक्षाका नाममा अर्बौं रुपियाँ बाहिरिएको आधिकारिक तथ्याङ्क र अनौपचारिक माध्यमबाट त्यो भन्दा ठूलो रकम विदेशिएको सन्दर्भमा अध्यक्ष ओलीले ‘देशमा स्कुल नै खोल्न नदिएर (चिकित्सा शिक्षा) शिक्षाका लागि विदेश पठाउने बाध्यता सिर्जना गर्नु देशद्रोही क्रियाकलाप हो’ भन्नुभयो । 
देशमा पढ्ने, रोजगारी पाउने, बस्ने वातावरण नै छैन जस्तो गरी विदेश जाने क्रम चलिरहेको र यो परिचालित र योजनावद्ध ढङ्गले भइरहेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले हाम्रोजस्तो देशले विश्व प्रतिस्पर्धालाई हेरेर आफ्नो सुरक्षामा ध्यान पुर्याउनुपर्छ भन्नुभयो ।


परराष्ट्र मामिला विभागका सदस्यहरू करन ठगुन्ना र डिमप्रकाश पौडेलले ‘डि–डलराइजेशन एण्ड इट्स इम्प्याक्ट अन ग्लोवल इकोनोमी एण्ड इन्टरनेशनल ट्रेड’ विषयमा संयुक्त प्रस्तुति राख्नुभएको कार्यक्रममा पार्टीका पदाधिकारी तथा स्थायी कमिटीका नेता कमरेडहरूले आ–आफ्ना जिज्ञासा र सुझाव राख्नुभएको थियो । 
प्रस्तुतिमा विश्व व्यापारमा अमेरिकी डलरको प्रभुत्व, त्यसका विविध प्रभावका साथै कतिपय शक्ति राष्ट्रले विश्व व्यापारमा अमेरिकी डलरको विकल्प अपनाउन शुरू गरेको लगायत विषय समेटिएको थियो । छलफलका क्रममा नेताहरूले विश्व व्यापारमा अमेरिकी डलरको भूमिका के कस्तो भन्ने विषयलाई छोडेर हाम्रोजस्तो मुलुकले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू, अर्थविद् डा.युवराज खतिवडा लगायतको उपस्थिति रहेको थियो । 
विभाग प्रमुख डा.राजन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विभागका सदस्यहरू लक्की शेर्पा र विष्णुहरि पाण्डेले ‘ओसियन रिजनः ओभरभ्यु इन्टरनेशनल इस्यु एण्ड कन्सर्न’ विषयमा अर्को प्रस्तुति राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण विभागका सचिव डा.अन्जान शाक्यले गर्नुभएको थियो ।