detail-img

संविधान संशोधन गर्न सकिन्छ तर हतार गर्नुपर्ने अवस्था छैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बडो मेहनत र बलिदानपूर्ण लामो सङ्घर्षपछि नेपाली जनता आफैले निर्माण गरेको संविधान सबैले मान्नुपर्ने वताउनुभएको छ ।  
संविधान सभाका अध्यक्ष तथा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको स्मृतिमा पार्टीद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा आयोजित ‘सुवास र संविधान’ बिषयक प्रवचन कार्यक्रममा अध्यक्ष ओलीले हरेक संविधानमा केही न केही कमजोरी हुने उल्लेख गर्दै संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताउनुभयो । 
अध्यक्ष ओलीले संविधान सर्वस्वीकार्य बनोस् भनेर पहिलो पटक संशोधन गरिएको र दोस्रो पटक हाम्रो देशको नयाँ नक्शा संविधानको अनुसूचिमा राख्नका लागि संशोधन गरिएको स्मरण गराउँदै अहिले पनि व्यावहारिक बनाउनका लागि आवश्यकता अनुसार संशोधन गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो– संविधान कार्यान्वयनका क्रममा देखापरेका नमिल्दा खालका, व्यवहारमा परिवर्तन आवश्यक देखिएका बिषयहरू परिवर्तन गर्दै लैजानुपर्छ ।
अध्यक्ष ओलीले गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित कुराहरू, आयातीत कुराहरूबाट दबाब दिने प्रवृत्तिहरू र अनेक खालका बेठीक उद्देश्य देखिएकाले, नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने  हतारो अवस्था नरहेको बताउनुभयो । 
संविधान सभाका अध्यक्ष स्व. नेम्वाङ आधारभूत गुणमा कतै खोट नभएको व्यक्ति भएको र उहाँले अवसर र जिम्मेवारी पाउँदा सफलतापूर्वक सम्पादन गरेको अध्यक्ष ओलीको भनाइ छ ।   
उहाँले २०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधि सभाले राजाका अधिकार प्रधानमन्त्रीमा ल्याउने, २०४७ सालको संविधान जारी गर्दा पार्टीले राखेका २७ फरक मतको सम्बोधन लगायत थुपै युगान्तकारी निर्णय गरेको र त्यसमा सभामुखको हैसियतमा नेम्बाङको  भूमिका असाधारण रहेको वताउनुभयो । 
अध्यक्ष ओलीले आज देश सबै पार्टीले गम्भीर भएर सोच्नुपर्ने अवस्थामा रहेको र देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–अन्यथा धेरै खालका खतराबाट जेलिने छौं । 
अध्यक्ष ओलीले नेपाली जनताले धेरै ठूलो मूल्य तिरेर, बलिदान गरेर प्राप्त गरेका उपलब्धि गुम्न दिन नसकिने स्पष्ट गर्दै उपलब्धि रक्षाका लागि प्रमुख राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने वताउनुभयो  ।
देशको भूमि, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा गर्न एमाले प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले देशको राष्ट्रिय हित खलबलिन नदिने भन्दै भावनात्मक, अरुको स्वार्थका लागि हिंसा भड्काउने खालका क्रियाकलाप एमालेलाई  स्वीकार्य नहुने र यस्तो कार्य रोक्न अगुवाई गर्ने वताउनुभयो ।  
अध्यक्ष ओलीले राष्ट्रिय एकताबाट मात्र देशमा शान्ति सुव्यवस्था, सुशासन र  विकास सम्भव रहेको बताउनुभयो । अहिले राष्ट्रिय राजनीति कसैलाई सिध्याउने उद्देश्य राखेर प्रतिशोधको राजनीति भइरहेको वताउँदै अध्यक्ष ओलीले अहिलेको आवश्यकता त्यो नभई उपलब्धि रक्षा मुख्य कुरा हो भन्नुभयो । 
अध्यक्ष ओलीले स्व. नेम्बाङको सिङ्गो जीवन क्रियाशील, सकारात्मक, देशभक्त, न्यायप्रेमी, प्रगतिशील र परिवर्तनकारी रहेको वताउनुभयो । संसदीय प्रणाली र संवैधानिक हिसावले देश अगाडि बढाउँदा स्व. नेम्वाङप्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने उहाँको भनाइ छ । 

प्रवचन कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा आर्थिक, सामाजिक, साँस्कृतिकसँगै राजनीतिक सङ्कट बढ्दै गएको वताउँदै राष्ट्रको हित, राष्ट्रियताका सवालमा सबै पार्टी मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । 
पूर्व प्रधानमन्त्री खनालले स्व. नेम्वाङले संविधान निर्माणको समयमा विभिन्न विचारका बिच साझा आधार पहिल्याई संविधान निर्माण गर्ने कुरामा र सङ्क्रमणकालीन समयमा पनि अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको वताउनुभयो । 


नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान निर्माणमा मात्र नभई शान्ति प्रक्रियामा पनि स्व. नेम्वाङको महत्वपूर्ण भूमिका रहेको वताउनुभयो । उहाँले भन्नुभयो– जेठ ४ को घोषणा रोक्न अनेकौं प्रयास भएका थिए । अनेकौं कठिनाइृ र आरोह अवरोहबीच अन्तरिम संविधान जारी भएको थियो । त्यसपछि मात्र माओवादीसँग वार्ता भएको र शान्ति प्रक्रिया अगाडि बढेको थियो । 
पूर्वमन्त्री सिटौलाले संविधान निर्माणका समयका अनुभव र चुनौती स्मरण गर्दै भन्नुभयो– सुवास नेम्वाङ संविधान सभाको अध्यक्ष नभएको भए  संविधान जारी हुन्थ्यो, हुँदैनथ्यो भन्न सकिन्न,  संविधान निर्माणमा उहाँको अतुलनीय योगदान मात्र होइन, समन्वयकारी र नेतृत्वदायी भूमिका छ । 


पूर्व सभामुख तथा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले स्व. नेम्वाङ आफ्नो कर्तव्यप्रति जिम्मेवारपूर्ण ढङ्गले समर्पित हुने व्यक्तित्व भएको वताउँदै उहाँको निधनबाट एउटा असल नेतामात्र नभएर संसदले अभिभावक गुमाएको धारणा राख्नुभयो । 
नेम्वाङले सहकार्य, सहमति र एकता कायम गरेर संविधान जारी गराउनुभएको स्मरण गर्दै पूर्व सभामुख घर्तीले देशलाई विकास, समृद्धि र सुशासनका साथ अगाडि बढाउन दलहरूबीच एकता र सहकार्यको आवश्यकता छ भन्नुभयो । 


कार्यक्रममा जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङले संविधानका आधारभूत पक्षमा सबैलाई सहमत गराई संविधान जारी गर्नसक्नु स्व. नेम्वाङको महत्वपूर्ण काम भएको वताउँदै संविधानको इमान्दारीपूर्वक कार्यान्वयनमा जोड दिनुभयो ।

 
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता सर्वेन्द्र नाथ शुक्लले नेम्वाङ विभिन्न अडानबीच समाधान निकाल्न सक्ने व्यक्ति भएको चर्चा गर्दै उहाँको निधनबाट राष्ट्रले अपूरणीय क्षति व्यहोरेको छ भन्नुभयो । 
संविधानविद् नीलाम्बर आचार्यले कसैको अनिच्छा र दबाब हुँदा हुँदै पनि संविधान जारी गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सुवास नेम्वाङ नेपालको लोकतन्त्र, संविधान र न्यायपूर्ण आन्दोलनमा सधै बाँचिरहनुहुने छ भन्नुभयो । 
प्रवचन कार्यक्रम सञ्चालन गर्दै महासचिव शंकर पोखरेलले स्व.नेम्वाङको योगदानको चर्चा गर्नुभयो । स्व. नेम्वाङ संविधान र कानुनी विषयमा सल्लाहकारजस्तो सबै राजनीतिक दलका खोजी हुने पात्र हुनुहुन्थ्यो भन्नुभयो ।  
कार्यक्रममा पार्टीका नेताकार्यकर्ता, विभिन्न पेशा व्यवसायका महानुभावहरू, स्व. नेम्वाङका परिवारका सदस्यहरूका साथै शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।