detail-img

‘प्रतिकूल परिस्थितिबीच नेम्बाङको चलाखीपूर्ण पहलमा संविधान जारी हुनसक्यो’

रुपन्देही । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालमा सिक्किमको जस्तो घटना गराउने खेललाई संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले रोक्नुभएको वताउनुभएको छ । 
नेकपा (एमाले) लुम्बिनी प्रदेश तथा रूपन्देही जिल्ला कमिटीले मङ्गलबार बुटवलमा आयोजना गरेको ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा बोल्दै उपाध्यक्ष ज्ञवालीले यस्तो खेलको पूर्वसूचना पाएर त्यसलाई छल्दै नेम्वाङको पहलमा नेपालको संविधान जारी हुनसकेको बताउनुभयो । 
उहाँले भन्नुभयो– संविधान सभाबाट मस्यौदा भइसकेको संविधान जारी नगर्न दबाब थियो, जारी गर्ने व्यक्तिले गर्लान् कि नगर्ला भन्ने थियो ।
‘स्व. नेम्बाङ एमालेको मात्र नेता नभएर सबैको साझा नेता हुनुहुन्थ्यो’, उहाको व्यक्तित्वका बारेमा चर्चा गर्दै उपाध्यक्ष ज्ञवालीले भन्नुभयो– नेम्वाङको निधनले सिङ्गै देश शोकमग्न भएको छ ।


पाार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले बाह्य दबाब र चलखेलका बाबजुद निकै चलाखीपूर्ण तरिकाले सबै दलसँग समन्वय गरेर संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधान जारी गर्न सकेको स्मरण गर्नुभयो । 
‘त्यतिवेला धेरै जटिलता थिए, परिवर्तनलाई संस्थागत गर्ने, जनताको तहमा अधिकार ल्याउने कुरा सामान्य थिएन । नेपालमा अस्थिरता सिर्जना गरेर स्वार्थ लिन खोज्नेहरू थिए । बाह्य दबाब र चलखेललाई निस्तेज बनाएर संविधान जारी गर्नु सामान्य विषय थिएन । संविधान सभाका अध्यक्ष नेम्बाङले हरेक प्रतिकूलतालाई अनुकूलतामा बदलेर सचेतनापूर्वक चाल्नुभएका कदमले संविधान जारी हुन सक्यो ।’
सचिव अर्यालले नेम्वाङसँग सबैलाई मिलाउनसक्ने क्षमता रहेको स्मरण गर्नुभयो । 
नेकपा (एमाले) लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता तथा रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य  हकिकुल्ला खाँले नेम्बाङ शालीन, अविचलित, धैर्यताका साथ काम गर्नसक्ने व्यक्ति भएको र उहाँको निधनले देशलाई अपूरणीय क्षति भएको वताउनुभयो । 
‘नेम्वाङ संविधानविद् मात्र हैन, राजनीतिज्ञ पनि हो । मुलुक कता लैजाने भन्ने स्पष्ट दृष्टिकोण उहाँमा थियो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री ताहिर अलीले नेपाली राजनीतिका समन्वयकर्ता, सरल र मिठास बोलीका प्रतिमूर्ति, संविधानविद् नेम्बाङको निधनले देशलाई क्षति भएको बताउँदै उहाँका स्वभाव हामीले पनि जीवनमा लागू गरेर अगाडि बढ्नुपर्ने भनाइ राख्नुभयो । 
नेपाली कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरि अर्यालले समकालीन राजनीतिका स्मरणयोग्य र विवादरहित ब्यक्तिको असामयिक निधनले नेपाली राजनीतिले ठूलो क्षति भोग्नुपरेको विचार व्यक्त गर्नुभयो । 
राष्ट्रिय जनमोर्चाका रुपन्देही उपाध्यक्ष टानबहादुर केसीले कम्युनिष्ट आचरणमा रहेका सुवास सरल, निष्कलङ्क भएकैले संविधान निर्माणमा अत्यन्तै ठूलो भूमिका खेल्न सकेको र उहाँको योगदान सधैभरि स्मरणयोग्य रहेको वताउनुभयो । कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्यहरु लिला गिरी र दधिराम न्यौपाने, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलगायतले सुवास नेम्बाङका योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।