detail-img

स्व. नेम्बाङका सद्गुण र विचार हामीबीच सधै रहनेछन्ः बरिष्ठ उपाध्यक्ष पोखरेल

धनुषा । नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी शुरूदेखिनै आवश्यकताका आधारमा संविधान संशोधनको पक्षमा रहेको बताउनुभएको छ । 
नेकपा (एमाले) मधेश प्रदेश कमिटीले जनकपुरधाममा मङ्गलबार आयोजना गरेको ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा उहाँले सो कुरा स्पष्ट गर्नुभएको हो । 
संविधान संशोधनका लागि आवश्यकताको पहिचान हुनुपर्छ भन्दै उहाँले प्रदेश र स्थानीय तहका कतिपय विषयवस्तुका सवालमा संशोधन आवश्यक रहेको बताउनुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले सरकार जनताका लागि हुनुपर्ने वताउँदै देशमा सरकार छ भने कुरा जनताले महसुस गर्न सकेका छैनन् भन्नुभयो । 
उहाँले हरेक दृष्टिले देशको अवस्था ठीक नभएको भन्दै नेकपा (एमाले)ले बहुमत प्राप्त गरी सरकार गठन नगरेसम्म देशको अवस्थामा सुधार नआउने वताउनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले मिसन २०८४ मा एमालेले ५१ प्रतिशत मत प्राप्त गरी आफ्नो नेतृत्वमा सरकार गठन गर्ने योजनाका साथ अगाडि बढेको भन्दै मिसन पूरा गर्नका लागि एमालेका विचारलाई जनतामा पुर्याउनुपर्ने धारणा राख्नुभयो । 
उहाँले एमालेका नेता एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधान सभाका ९० प्रतिशतभन्दा बढी सदस्यहरूलाई सहमत गराई २०७२ सालमा संविधान जारी गर्न लगाएर देशलाई अनिश्चितताको भूमरीबाट जोगाउने काम गरेको बताउनुभयो । 
स्व.नेम्बाङ समन्वयकर्ताको भूमिका निर्वाहमा अब्बल रहेको स्मरण गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले नेम्बाङ भौतिकरूपमा नरहे पनि उहाँका सद्गुण, विचार र क्षमता हामीबीच सधै कायम रहने छन् भन्नुभयो ।


कार्यक्रममा नेकपा (एमाले)का सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले ३२ वटा दललाई एउटै मुख बनाएर संविधान घोषणा गर्नु सामान्य कुरा होइन भन्दै त्यस्तो चुनौतीपूर्ण कार्य गर्नमा संविधान सभाका अध्यक्ष नेम्वाङ सफल भएको बताउनुभयो । 
उहाँले एमाले मधेशमा चुनौतीविहीन शक्ति रहेको दावी गर्दै आउने दिनमा एमाले एकजुट भएर अघि बढ्नु आवश्यक रहेको  बताउनुभयो । 
कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं मधेश प्रदेश सरकारका मन्त्री सुरिता साहले नेता नेम्वाङले संविधानमा जनताका मौलिक हकहरू ग्यारेन्टी गराउनमा क्रियाशील रहनुभएको थियो भन्नुभयो । 
नेकपा (एमाले) मधेश प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले)का धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुली कुमारी महतो, नेकपा (एमाले) मधेश प्रदेश संसंदीय दलका नेता सरोज कुमार यादवलगायतले बोल्नुभएको थियो ।