detail-img

स्व. नेम्बाङ नेपाली राजनीतिका बहुप्रतिभाशाली व्यक्तिः उपाध्यक्ष पौडेल

धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्वर्गीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले नेपाली राजनीतिमा अतुलनीय क्षति भएको बताउनुभएको छ । 
संविधान सभाका अध्यक्ष एवं पार्टीका उपाध्यक्ष स्व.नेम्वाङको स्मृतिमा मङ्गलबार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले बहुप्रतिभाका धनी नेम्वाङको असामयिक निधनबाट नेपाली राजनीतिमा अतुलनीय क्षति भएको बताउनुभयो । 
नेम्वाङ संविधान सभाको कुशल नेतृत्वकर्ता मात्रै नभएर बहुप्रतिभाका धनी समेत रहेको उपाध्यक्ष पौडेलको भनाइ छ । 
जस्तोसुकै असहज परिस्थितिको सामना शालिनतापूर्वक गर्ने सामथ्र्य राख्ने नेम्वाङ फरक–फरक सिद्धान्तका राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमतिका लागि तयार पार्ने प्रतिभा रहेको उपाध्यक्ष पौडेलले बताउनुभयो ।
कार्यक्रममा पार्टीका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्मा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेपाली कांग्रेसका कार्यवाहक प्रदेश अध्यक्ष लोकराज अवस्थीलगायतले संविधान सभाका अध्यक्ष स्व. नेम्वाङले  संविधान निर्माण, नेपालको लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।