detail-img

राजनीतिमा स्व. नेम्बाङको विचार, शैली र स्वभाव अनुकरणीयः उपाध्यक्ष शाक्य 

पोखरा । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सबै राजनीतिक दलका नेताहरूलाई सहमतिमा ल्याउन सक्ने संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको खुवीका कारण संविधान जारी हुन सकेको वताउनुभएको छ । 
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको आयोजनामा मङ्गलबार पोखरामा भएको ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा उपाध्य शाक्यले स्व. नेम्बाङको प्रभावशाली र शालीन शैली सबैका लागि अनुकरणीय रहेको वताउनुभयो । कार्यक्रममा पार्टीका सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण बिष्टले संविधान सभाको असहमतिका दर्जनौं बुँदालाई सहमतिमा परिणत गर्दै सर्वस्वीकार्य समाधान निकाल्ने संयम र धैर्य भएको व्यक्तित्व सुवास नेम्वाङ भएको बताउनुभयो ।  द्वन्द्वलाई सोच विचार गरेर समाधान निकाल्ने नेम्बाङको शैलीकै कारण संविधान निर्माण सम्भव भएको उहाँको भनाइ थियो ।
सचिव बिष्टले एमालेबाट सभामुख र संविधान सभा अध्यक्ष भए पनि संसदीय मर्यादा र शैलीलाई उहाँले कहिल्यै नकुल्चेको भन्दै इतिहासमा गौरव गर्न लायक नेता भएको वताउनुभयो । 
यस्तै, पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङले नेम्बाङ नेपाली राजनीतिका समाधान भएको भद्र, मिजासिलो नेता भएको वताउनुभयो । 
नेता गुरुङले स्व. नेम्बाङ सार्थक कुशल बहसमार्फत प्रभावकारी नेतृत्व प्रदान गर्ने व्यक्ति भएको भन्दै उहाँको नेतृत्व नभएको भए संविधान जारी नहुन पनि सक्थ्यो भन्नुभयो । 
स्थायी कमिटी सदस्य खगराज अधिकारीले समग्र पार्टीहरूको लागि चित्तबुझ्दो उपाय खोज्न सक्ने अद्भुत क्षमता नेम्वाङसँग थियो भन्नुभयो । नेता अधिकारीले सुक्ष्म व्यवस्थापकीय कौशल भएका नेम्वाङका कारण नै संविधान जारी गर्न सम्भव भएको वताउनुभयो । 
कार्यक्रममा स्थायी कमिटी सदस्य थममाया थापा, गण्डकी प्रदेश सरकारका कृषिमन्त्री महेन्द्रध्वज जीसी, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य राजकाजी गुरुङलगायतले नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङको योगदानका विषयमा चर्चा गर्नुभएको थियो । 
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मोहन रेग्मी र सचिव धनञ्जय दवाडीले पनि प्रवचन कार्यक्रमका बारेमा बोल्नुभएको थियो ।