detail-img

वर्तमान संविधानमा नेपाल र नेपालीको भविष्यः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नेपाल र नेपालीको भविष्यको गोरेटो भएकाले संविधानप्रति गौरव गर्दै प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 
नवौं संविधान दिवस जनस्तरमा मनाउन आज काठमाडौं महानगरपालिका–१ नक्सालस्थित नन्दीकेशर बगैँचामा आयोजित विशेष कार्यक्रममा अध्यक्ष ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले उपलब्धिहरूलाई समाप्त पार्न कहीँ कतै छिटपुटरूपमा प्रयासहरू भइरहेको र अभिव्यक्ति आउने गरेको वताउँदै राष्ट्रिय एकता खल्बल्याउने खालका गतिविधि स्वीकार्य हुन नसक्ने स्पष्ट गर्नुभयो । 
उहाँले जनतामा विभाजन र फाटो ल्याउने प्रवृत्ति र गतिविधि राष्ट्रिय एकताको पक्षमा नभएको हुँदा राष्ट्रिय एकतालाई कमजोर पार्ने त्यस्ता गतिविधि नगर्न आग्रह गर्नुभयो ।  
नेपाली जनताले आफ्नो उद्देश्य, बाटो बिर्सन नहुने र एकतालाई कमजोर बन्न दिन नहुने वताउँदै अध्यक्ष ओलीले एकताको सन्देश दिने संविधान दिवस आगामी वर्ष  राष्ट्रियस्तरमा मनाइने बताउनुभयो ।
‘राष्ट्रिय एकताका साथ सिङ्गो देश एकजुट भएर सही बाटोमा अगाडि  बढौँ  भन्ने संविधान दिवसको सन्देश हो’, उहाँले भन्नुभयो । संविधान एउटा पार्टी, वर्ग, जाति, भूगोग विशेषको नभई सम्पूर्ण जनताको साझा उपलब्धि र गौरव भएकाले आज सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस भएको अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले भन्नुभयो– ‘जसरी राष्ट्रिय दिवसको रूपमा संविधान दिवस मनाइरहेका छौँ । यो सरकारी दिवस होइन, आम नेपाली जनताको दिवस हो, यो त सरकारको पनि दिवस हो ।
अध्यक्ष ओलीले नेपाली जनताको हक अधिकार प्रत्याभूति गरिएको वर्तमान संविधानको सफल र प्रभावकारी कार्यान्वयन गरी मुलुकमा गरिबीको  अन्त्य गरी सम्पन्न र आधुनिक नेपालको जिन्दगी नेपाली जनताले उपभोग गर्न पाउनुपर्ने धारणा राख्नुभयो । 
उहाँले संविधान दिवसका अवसरमा सबै नेपालीलाई बधाई दिनुहुँदै शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन गर्नुहुँदै महासचिव शंकर पोखरेलले संविधान दिवस जनता सार्वभौमसत्ता सम्पन्न भएको गौरवको दिन भएको हुँदा आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा, जनताको बीचमा उल्लासपूर्ण वातावरणमा, उत्सवका रूपमा  मनाउनुपर्छ भन्ने मान्यताका आधारमा आज नन्दीकेशर बगैँचामा भेला भएको स्पष्ट गर्नुभयो । 
मुलुकमा राजनीतिक अस्थिरता र अराजकताका कारण अहिले नेपाली जनताले संविधानले सुरक्षित गरेका अधिकार प्रयोग गर्न नपाइरहेको अवस्था रहेकाले नेकपा (एमाले)  मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गरी जनतालाई अधिकार सम्पन्न बनाउन, संविधानले प्रत्याभूत गरेका हरेक अधिकार प्रयोग गर्नसक्ने वातावरण तयार गर्ने अभियानमा अगाडि बढिरहेको वताउनुभयो ।
‘नेपाली समाज अधिकारको लडाईंबाट आज विकास र समृद्धिको यात्रामा अगाडि बढ्दै गरेको र यस यात्रालाई अगाडि बढाउने सन्दर्भमा स्वाभाविक रूपमा मुलुकले नायकत्वको खोजी गरेको छ’ भन्नुहुँदै महासचिव पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’का परिकल्पनाकार, पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष  केपी शर्मा ओलीले राष्ट्रको नायकका रूपमा जनताको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको अगुवाई गरिरहनुभएको वताउनुभयो । 
सेल्फी विथ नेशनल फ्ल्याग (राष्ट्रिय झण्डासँग सेल्फी) नामको विशेष कार्यक्रममा अध्यक्ष ओलीले नन्दीकेशर बगैँचामा सधै फहराउने गरी आजै राखिएको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो । कार्यक्रमलाई संक्षिप्त सम्वोधनपछि अध्यक्ष ओली चौरको वरिपरि घुमेर त्यहाँ राखिएका नेपालको अद्यावधिक गरिएको चुच्चे नक्शा, संविधानका ३१ ग्यारेण्टीबारे जानकारीमूलक प्रदर्शनी अवलोकन गर्नुभएको थियो भने सहभागी जनसमुदायले राष्ट्रिय झण्डासाथमा लिएर अध्यक्ष ओलीसँगै सेल्फी लिएका थिए । 
कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, बिष्णु रिमाल, पार्टीका स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सदस्यहरूको सहभागिता थियो । संविधान दिवसलाई राष्ट्रिय झण्डा दिवसका रूपमा पनि मनाइएकाले सबै सहभागीका हात हातमा राष्ट्रिय झण्डा थिए भने विभिन्न राष्ट्रिय गीत र राष्ट्रिय धुनले कार्यक्रम सङ्गीतमय भएको थियो । कार्यक्रममा हाम्रो गौरवशाली इतिहास, लोकतान्त्रिक गणतन्त्रसम्मको विजययात्रा र संविधानमा व्यवस्था गरिएका ३१ ग्यारेण्टी समेटिएको जानकारीमूलक ब्रोसर वितरण गरिएको थियो ।