detail-img

नन्दिकेशर बगैँचामा दीपावली– लोकतन्त्रको दियो कहिल्यै निभ्ने छैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको दियो कहिल्यै ननिभ्ने बताउनुभएको छ ।
आज असोज ३ गते । संविधान सभाबाट संविधान जारी भएको दिन । संविधान दिवस जनस्तरबाट मनाउन काठमाडौंको नक्शालस्थित नन्दीकेशर बगैँचामा आयोजित विशेष कार्यक्रममा विहान राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुका साथै सेल्फी विथ नेशनल फ्याग कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष ओलीले साँझ सोही बगैँचामा दीपावलीको उद्घाटन गर्दै उक्त विश्वास व्यक्त गर्नुभएको हो ।


अध्यक्ष ओलीले लोकतन्त्रको दियो कहिल्यै ननिभ्नेगरी दीपावली गरिएको र यस नन्दीकेशर बगैंचालाई उज्यालो नेपाल, नेपालको उज्यालो भविष्यको प्रतीकका रूपमा विकास गर्न चाहेको वताउनुभयो । 
उहाँले संविधानको सफल कार्यान्वयनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गरी छाड्ने सङ्कल्प जनस्तरबाटै गर्नुपरेको बताउनुभयो ।
अध्यक्ष ओलीले संविधान कार्यान्वयनका क्रममा कमी कमजोरी देखिए सम्वोधन गर्न सकिने, संशोधन गर्न सकिने भए पनि संविधानको रक्षा र सफल प्रयोग अहिलेको मुख्य कार्य भएकोे वताउनुभयो ।   
सो अवसरमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशमा राष्ट्रिय शक्ति निर्माण गरी संविधानमा सुरक्षित गरिएका नागरिकका ३१ मौलिक अधिकार कार्यान्वयनको वातावरण बनाउनुपर्ने वताउनुभयो । 
उहाँले मुलुकमा विकास, समृद्धि र जनताका अधिकार कार्यान्वयनका लागि वातावरण बनाउन राष्ट्रिय शक्ति निर्माणमा जनताले साथ दिनुपर्ने वताउनुभयो । 
संविधान दिवसलाई राष्ट्रिय झण्डा दिवसका रूपमा पनि मनाउन थालिएको र अर्कोबर्ष यस दिवसमा नागरिकका घरघरमा राष्ट्रिय झण्डा फहराएर राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने भनाइ महासचिव पोखरेलले राख्नुभयो । 
आजको विशेष कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ र अनेरास्ववियुद्वारा सहभागीहरूलाई झण्डा वितरण गर्नुका साथै नन्दिकेशर बगैँचाका आइल्याण्डहरू सजाएर राष्ट्रिय झण्डामय बनाइएको थियो । दीपावलीमा रङ्गीचङ्गी लाइटिङको प्रयोग गरी आकर्षक र झिलिमिली बनाइएको थियो । सङ्गीतमय दीपावलीमा युवा समूहको उल्लेख्य सहभागिता रहेको थियो ।