detail-img

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको छ । 
यही असोज ८ र ९ गते राजधानी काठमाडौंमा हुने अधिवेशनले पाँच पदाधिकारीसँगै २४० सदस्यीय प्रदेश कमिटीको चयन गर्नेछ ।  
अध्यक्ष केपी शर्मा ओलीले असोज ८ गते भृकुटीमण्डपमा भव्य समारोहबीच अधिवेशनको उद्घाटन गर्नुहुनेछ । अध्यक्ष ओलीले डिजिटल माध्यमबाट चल्ने रोबोर्टको प्रयोग गरेर उद्घाटन गर्नुहुने छ भने बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा गरिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा  आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।  
अधिवेशनको प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको र प्रतिनिधिलाई कार्ड उपलब्ध गराउन अनलाइन इन्ट्रीको काम भइरहेको छ । मूल व्यवस्थापन समिति मार्पmत अधिवेशनको काम अघि बढेको प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले जानकारी दिनुभयो । अधिवेशन सफल पार्न अध्यक्ष पाण्डेको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, रामहरि सुवेदीको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति, विजय सुवेदीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, महेश बर्ताैलाको संयोजकत्वमा प्रचार, रत्न गुरुङको सयोजकत्वमा आन्तरिक लेखा, कृष्णहरि खड्काको संयोजकत्वमा आर्थिक, ओम थपलियाको संयोजकत्वमा निर्वाचन समिति, पुरुषोत्तम आचार्यको संयोजकत्वमा हल व्यवस्थापन समिति बनाई काम अगाडि बढाइएको पत्रकार सम्मेलनमा वताइएको छ । 
अधिवेशनमा प्रतिनिधिका रूपमा स्थानीय तहबाट १२५ जना संगठित सदस्य बराबर एक जना, एकतिहाई महिला अनिवार्य, १० प्रतिशत ४० बर्षमुनिका युवालाई अनिवार्य सहभागिता गराइएको छ । अधिवेशनमा ४० बर्ष मुनिका १२० जना युवा प्रतिनिधिको रूपमा सहभागी भएका छन् । त्यस्तै कूल प्रतिनिधिको एकतिहाई अर्थात ३५० जना महिला प्रतिनिधि सहभागी हुने भएका छन् । दलित प्रतिनिधिको हकमा ५० जना बराबर एकको व्यवस्थापन गरिएको छ ।   
अधिवेशनमा एक हजार १३८ जना प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । बागमती प्रदेशका ११९ वटा स्थानीय तहबाट प्रतिनिधि चयन भएका छन् । अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ ।