detail-img

नाजुक अर्थतन्त्रका कारण देशप्रति गम्भीर हुनुपर्ने अवस्था छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र अत्यन्त नाजुक अवस्थामा रहेको र यसप्रति सबैले गम्भीर हुनुपर्ने वताउनुभएको छ । 
नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आज राजधानीमा आयोजित ‘निजी क्षेत्रसँग नेकपा (एमाले)’ विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले देशको नाजुक अर्थतन्त्रमा  कसरी परिवर्तन ल्याउने भन्ने चिन्ताको विषय भएको वताउनुभयो । 
उहाँले भन्नुभयो– देशप्रति साच्चै गम्भीर हुनुपर्ने अवस्था छ । सामान्य उपचारले हुने स्थिति छैन । 
अध्यक्ष ओलीले नेकपा (एमाले) सरकारमा नरहेको र सरकारमा जाने कुरामा वास्ता, चिन्ता केही नभए पनि देशको नाजुक अर्थतन्त्रप्रति चिन्तित रहेको वताउनुभयो । नेकपा (एमाले) मिसन २०८४ मा केन्द्रित रहेको र २०८४ को चुनावसम्म पुग्दा देशमा कुनै उद्योग रहन्छ कि रहँदैन भन्ने विषयले चिन्तित तुल्याएको उहाँले बताउनुभयो । 
सरकारको आर्थिक बर्ष २०८०÷८१ कोे बजेट अर्थतन्त्रलाई ध्वस्त पार्ने बजेट भएको तर निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले इतिहासकै राम्रो बजेट भनी हतार हतार स्वागत गरेको सुन्दा आफूलाई आश्चर्य लागेको स्मरण गर्दै अध्यक्ष ओलीले महासंघले अलि बढी राजनीति गरेकोे वताउनुभयो । 
उहाँले देशको अर्थतन्त्रप्रति गठबन्धनको कुनै चिन्ता देखिँदैन, केवल सरकार टिकाउनेतिर मात्र ध्यान छ भन्नुभयो । 
देश जसरी अघि बढ्नुपर्ने हो त्यस्तो हुन नसकेको वताउँदै अध्यक्ष ओलीले उत्पादन बढाउने बाहेक अन्य कुनै उपाय नभए पनि त्यसका निम्ति सरकारले कुनै कदम नचालेको प्रष्ट पार्नुभयो । 
यस्तै अवस्थाबाट अब देश अगाडि बढ्न नसक्ने भन्दै उहाँले सरकारलाई सुझाव दिने समय गुज्रिइसकेकाले दबाबमूलक गतिविधि अगाडि बढाउन उद्योगी व्यवसायीलाई सुझाउनुभयो ।  अध्यक्ष ओलीले उद्योगी व्यवसायीका दबाबमूलक गतिविधिमा एमालेको साथ रहने विश्वास दिलाउनुभयो । 
देशको अर्थतन्त्रको अवस्था र उद्योगी व्यवसायीका समस्याका बारेमा सरकार र राष्ट्र बैङ्कका अधिकारीहरूसँग छलफल गर्ने विश्वास दिलाउँदै अध्यक्ष ओलीले राष्ट्र बैङ्कले बैङ्कहरूलाई निर्मम साहुजी जस्तो होइन, उद्यमका सहयोगी बनाउनुपर्ने धारणा राख्नुभयो । 
सरकारले काम सकेका निर्माण व्यवसायीलाई भुक्तानी नदिएबाट आर्थिक तरलताको अभाव भन्दा यसको असर गम्भीर रहेको र  विकासका काम ठप्प भएको उहाँको भनाइ छ । 
अध्यक्ष ओलीले युवालाई शिक्षा, रोजगारी र उद्यमशीलता दिन नसकेको कारण विदेसिन बाध्य भएको वताउनुभयोे । 
उहाँले आफ्नो नेतृत्वको सरकारका समयमा सबै आर्थिक परिसूचक सकारात्मक रहेका र आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुर्याएको स्मरण गर्नुभयो । 
अन्तर्क्रियामा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धन सरकारबाट देशको अर्थतन्त्र लयमा फर्कने कुनै सम्भावना नरहेको वताउनुभयो । 
बिग्रँदो अर्थतन्त्रका कारण निजी क्षेत्रले भोग्नुपरेका समस्या समाधानका लागि पार्टीले गम्भीर रूपमा पहल गर्ने विश्वास दिलाउँदै उपाध्यक्ष पौडेलले उद्योगी व्यवसायीलाई निरास भएर होइन, संगठित रूपमा समाधान लिएर अगाडि बढ्न सुझाव दिनुभयो । 
अर्का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले निजी क्षेत्रका समस्या समाधानका लागि पार्टीले अग्रसरता लिने छ भन्नुभयो । 
त्यस्तै, पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले उद्योगी व्यवसायीका समस्या पहल गर्दा समाधान हुने खालका रहेकाले सरकारले सुन्नुपर्ने वताउनुभयो । 
नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष एलपी साँवाको अध्यक्षतामा भएको अन्तर्क्रियामा निजी क्षेत्रका उद्योगी व्यवसायीका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्ना क्षेत्रका समस्या राख्नुभएको थियो । 
यसक्रममा ५५ लाखलाई रोजगारी दिइरहेको निजीक्षेत्र अहिले अत्यन्त सङ्कटबाट गुज्रिइरहेकाले विशेष आर्थिक प्याकेजको आवश्यकता रहेको वताइयो ।