detail-img

राष्ट्रिय एकतालाई मजबुत तुल्याउन राष्ट्रिय मुद्दामा सबै दल एकजुट हुनुपर्छः अध्यक्ष ओली

काठमाडौं । प्रतिनिधि सभामा विपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई मजबुत तुल्याउन राष्ट्रिय मुद्दामा सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकलाई मङ्गलबार सम्बोधन गर्नुहुँदै उहाँले देश र जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको हो । 
अध्यक्ष ओलीले राष्ट्रका हितहरूलाई सर्वोपरि राख्दै विकासका प्रयासमा एकजुट हुन र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ । 
मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई सुमधुर तुल्याई, कूटनीतिक सम्बन्धलाई बलियो र थप प्रगाढ तुल्याउन लागिपर्ने वताउँदै उहाँले परराष्ट्र नीतिमा एक दृष्टिकोण बनाई नेपालको स्वाभिमान र गरिमा बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले वर्तमान सरकार इतिहासकै असफल बनेको बताउनुभएको छ । वर्तमान गठबन्धनको सरकार लोकतन्त्र र संविधान कार्यान्वयनका निम्ति गम्भीर सङ्कट भएको र इतिहासकै असफल सरकार भएको बताउनुभएको हो । 
वर्तमान सरकारले आफ्नो स्वार्थका लागि पटक–पटक संविधान मिच्ने काम गरेको बताउनुहुँदै उहाँले सरकारले संसदलाई समेत आफ्नो स्वार्थमा चलाउन खोजिरहेको धारणा व्यक्त गर्नुभयो । 
संविधान दिवसमा गम्भीर प्रकृतिका अपराधीहरूलाई समेत आममाफी दिएकामा आपत्ति प्रकट गर्नुहुँदै अध्यक्ष ओलीले राष्ट्रपतिलाई आलङ्कारिक नभई खोपीको देउता बनाएको र आदेश पालना गर्ने परिपालक बनाएको बताउनुभयो ।
मुलुक अप्ठेरो अवस्थामा रहेका बेला प्रधानमन्त्रीले अनावश्यक रूपमा विदेश (अमेरिका र चीन) भ्रमण लम्ब्याएको तथा सरकारको गलत नीतिकै कारण अहिले मुलुक अप्ठेरो अवस्थामा पुगेको र विकास र समृद्धिमा समेत बाधा पुगेको उहाँको भनाइ छ । 
अध्यक्ष ओलीले सरकारले संसदलाई प्रयोजनबिहीन बनाउन लागेको भन्दै प्रधानमन्त्री स्वयंले १७ दिन संसद अवरुद्ध गरेको बताउनुभयो । उहाँले संसद र संसदीय समितिहरूलाई सरकारले हालसम्म कामै नदिएको बताउनुभयो । 
उहाँले सांसदहरूलाई तर्साएर, आतङ्कित पारेर सरकारले संसदलाई आफ्नो नियन्त्रणमा राख्न चाहेको देखिएको बताउनुभयो । मुलुकमा सुशासन नभएको भन्दै अध्यक्ष ओलीले भ्रष्टाचारी, तस्कर र हत्याराहरूको संरक्षण गर्ने सरकारले सुशासनको गफ नदिन उचित हुने बताउनुभयो । 
सरकार चरम गैरजिम्मेवार, स्वच्छाचारी र विकास विरोधी देखिएको भनाइ उहाँले राख्नुभयो ।  
प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाको टुङ्गो लगाउन छाडेर युद्ध प्रक्रियाको सुरुवात गर्न लागिरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताउनुभयो । द्वन्द्वकालको घाउ उप्काएर प्रधानमन्त्रीले नयाँ द्वन्द्व चाहिरहेको उहाँको भनाइ छ । 
अध्यक्ष ओलीले बजारमा महंगी बढेको, किसानले मल बीउ नपाएकोलगायत जनसरोकारका विषयमा सरकार गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।