detail-img

अध्यक्ष ओलीको निर्देशनः कोशी प्रदेशमा मध्याबधि भए ५५ सिट ल्याउने गरी जुट्नूस् 

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्याबधि निर्बाचन भइहाले सुविधायुक्त बहुमत ल्याउने गरी तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट निर्बाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्याबधि निर्वाचन भए ५५ सिट ल्याउने गरी जुट्न निर्देशन दिनुभयो । 
उहाँले भन्नुभयो– कोशी प्रदेश सभामा मध्याबधि भइहाले ४० सिटमा किन चित्त बुझाउने, ५५ सिट ल्याउने गरी तयारी गर्नुपर्छ । 
अहिलेको गठबन्धन भ्रष्टाचारको आहालमा डुबेकाले उनीहरूलाई जनताले भोट नदिने र नयाँ भन्ने पार्टीहरूले देशका लागि केही नगरेकाले उनीहरूलाई पनि जनताले भोट नदिने भनाइ उहाँको छ । 
अध्यक्ष ओलीले भन्नुभयो– नयाँ भन्नेले के गरेका छन् ? ०७ साल, ०३६ साल, २०४६ सालमा आन्दोलन गरेका हुन् ?  
नेकपा (एमाले) देश बनाउने अभियन्ता एवम् नायक भएकाले जनताले एमालेलाई भोट दिने अध्यक्ष ओलीको विश्वास छ । 
कोशी प्रदेशको नाम सबैको साझा भएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले दुनियाँको सभ्यता नदी किनारबाटै उठेको हुनाले कोशी नाम प्राकृतिक र साझा भएको बताउनुभयो । 
उहाँले भन्नुभयो– विदेशीले पैसा पेलेका भरमा दुईचार जनाले कराएर केहि हुँदैन । 
अध्यक्ष ओलीले विगतमा पार्टीभित्रका मधुकैटवले दिनु दुःख दिएको बताउँदै उनीहरू अहिले कांग्रेसको पाउमा पुगेको बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश कमिटीमा नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 
नेकपा (एमाले) कोशी प्रदेश इन्चार्ज रघुबीर महासेठले कोशी प्रदेशका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराउन आउनु भएको थियो । 
कार्यक्रममा प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै नवनिर्बाचित अध्यक्ष घनश्याम खतिवडाले राजनीतिलाई पेशा हैन, सेवा हो भन्ने कुरालाई स्थापित गर्ने बताउनुभयो । 
उहाँले पार्टीलाई एकमना एकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । इमान्दारी र नैतिकतापूर्वक २५ बर्षे युवाको जोशमा काम गर्ने उहाँको भनाइ छ । 
अधिवेशनले अध्यक्षमा खतिवडा, उपाध्यक्षमा टीकाराम चेम्जोङ, सचिवमा राजकुमार भण्डारी, उपसचिवमा देवान राई र जलवर्षा राजवंशीसहित २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ ।