detail-img

संविधान सभाका सदस्य तथा बाराका चिरपरिचित नेता कुशवाह एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य शिवचन्द्र प्रसाद कुशवाह नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव तथा मधेश प्रदेश ईन्चार्ज योगश भट्टराई लगायतका नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बाराका चिरपरिचित नेता कुशवाहलाई  खादा र अविर लगाई पार्टीमा स्वागत गर्नुभयो ।


गत वैशाख १० गते बारा–२ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बन्नुभई २५ हजारभन्दा बढी मत ल्याउनुभएका नेता कुशवाह बाराका माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेपाली कांग्रेसका गरी पाँचदर्जन कार्यकर्ता तथा समर्थकसहित एमालेमा प्रवेश गर्नुभएको हो । 
नेकपा (एमाले) मा प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका बारा सूवर्ण गाउँपालिका अध्यक्ष भगवान गिरी, सचिव हरिनन्दन यादव, महागढीमाई नगरपालिका अध्यक्ष सचिन कुशवाह लगायत हुनुहुन्छ । 

सो अवसरमा अध्यक्ष ओलीले नेकपा (एमाले) लाई बलियो शक्ति बनाउने सोँच, सङ्कल्प र अठोट बोकेर प्रवेश गर्नुभएको भन्दै नवप्रवेशीलाई त्यसका लागि शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले नवप्रवेशीहरूलाई पार्टी काममा सदुपयोग गरिने वताउनुभयो । 
अरू पार्टीले कार्यकर्तालाई  गुण्डा, अपराधी र विवेकशून्य बनाउने वताउँदै उहाँले भन्नुभयो– हामीले तपाईंहरूलाई दुरुपयोग गर्दैनौं । विवेक भरिदिन्छौं । न्याय र सत्यमा अडेर काम गर्न सिकाउँछौँ ।देशभर नेकपा (एमाले) मा प्रवेशको लहर चलिरहेको वताउँदै अध्यक्ष ओलीले जबसम्म तराई मधेशमा अरु पार्टी रहन्छन् तबसम्म पार्टी प्रवेशको अभियान लगातार चलाइने जानकारी गराउनुभयो । 

पार्टी प्रवेश कार्यक्रममा नेता कुशवाहले मुलुकमा विकास र समृद्धिका लागि राजनीतिक स्थायित्वको आवश्यकता रहेको र त्यसका लागि नेकपा (एमाले)लाई बलियो बनाउनु आवश्यक रहेकाले आफू आफ्नो पुरानै घर एमालेमा फर्किएको बताउनुभयो । 
आफू २०५४ सालमा तत्कालीन परिस्थितिका कारण एमाले छोडेर माओवादीमा प्रवेश गरेको र माओवादीले जनयुद्धकालमा ठूलो आकार लिनुमा एमालेकै कार्यकर्ताको योगदान रहेको उल्लेख गर्दै नेता कुशवाहले अब देश एमालेमय बनाउनुपर्ने भएकाले माओवादीमा रहेका सबै कार्यकर्ता एमालेमा फर्कनुपर्ने विचार व्यक्त गर्नुभयो । 
उहाँले बारा लगायत सिङ्गो मधेश प्रदेश एमालेको लालकिल्ला बनाउने उद्घोष गर्दै २०८४ सालको निर्वाचनमा मधेशमा नेकपा (एमाले) को सरकार बनाउने छौँ भन्नुभयो ।