detail-img

देशको रक्षा र विकास गर्ने शक्ति एमालेमात्रः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  देशको रक्षा र विकास गर्ने शक्ति एमालेमात्र भएको वताउनुभएको छ । 
आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अहिले मुलुकमा देश बचाउने र बनाउने शक्तिको आवश्यकता रहेको वताउँदै त्यस्तो शक्ति एमालेमात्र भएकोे स्पष्ट गर्नुभयो । 
राष्ट्रिय आकाङ्क्षाका रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को उच्चारण नै गर्न नसक्ने सत्ता गठबन्धनमा रहेका दलहरूबाट देश बनाउने आशा गर्न नसकिने वताउनुभयो । 
राजनीतिक दलका बारेमा आफ्नो विश्लेषण सुनाउँदै अध्यक्ष ओलीले भन्नुभयो– 
नेपाली कांग्रेस साच्चै पुरानो र थोत्रो भइसक्यो । हजुरबुवा नातिका पछाडि लागेर हिँडेजस्तो, प्रतिनिधि सभामा ८७ सिट ल्याएर पनि ३२ सिटको माओवादीका पछाडि लुरु लुरु हिँडिरहेको छ । २००७ सालमा आफै हिड्न सक्ने कांगे्रस २०४६ सालमा आउँदा हाम्रो साथमा हिड्यो, २०६२÷६३ मा आइपुग्दा घिसार्ने अवस्थामा पुग्यो । अब कसैले घिसारे पनि केही पार लाग्दैन । कांग्रेस बुढो गोरुजस्तो भयो । जुवा बोक्न नसक्ने हलो कसरी तान्छ ?
दश सिट भएकाहरू माओवादीका पछि लाग्नु ठीकै हो । किनकि उनीहरूले हामी कांग्रेसको पछि लाग्न हिँडेका हौं भनेकै थिए । कांग्रेस किन लागेको होला !
माओवादी कार्यकर्ताहरूले आफूसँग पीडा पोख्ने गरेको वताउँदै अध्यक्ष ओलीले सत्तामा रहेकाहरूलाई कार्यकर्ताको योगदान, मेहनत र बलिदान सम्झन पनि फुर्सद छैन भन्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो–माओवादीले ३२ सिटमा विजयी भएर सरकारको नेतृत्व गर्ने अवसर त पायो तर नराम्रो बाहेक केही राम्रो काम गर्न सकेन । 
उहाँले नयाँ पार्टीहरूमा देश बनाउने सोच विचार नै नभएको र उनीहरूलाई  खोलाकिनारमा हात चोबल्दै गरेका र पौडि खेल्न बाँकी रहेका सिकारुको संज्ञा दिनुभयो । 
अध्यक्ष ओलीले देश र जनतालाई माया गर्ने, जनताको जीवनमा परिवर्तन ल्याउने, गरिबी निवारण गर्ने, सुशासन कायम गर्ने र देशको विकास गर्ने एमालेबाहेक अरु कुनै छैन भन्नुभयो । 
अध्यक्ष ओलीले पार्टीलाई उपरोक्त काममा सफल बनाउन  नवप्रवेशीहरूसँग प्रभावकारी भूमिकाको अपेक्षा गर्नुभयो ।