detail-img

अध्यक्ष ओलीलको निर्देशनः ‘आन्तरिक एकतालाई खँदिलो, बलियो र उन्नतस्तरको बनाउँदै अगाडि बढ्नूस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित बाग्मती प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई पार्टीको आन्तरिक एकतालाई खँदिलो, बलियो र उन्नतस्तरको बनाउँदै अगाडि बढ्न निर्देशन दिनुभएको छ । 
तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा विहीबार (२०८० असोज १८गते) आयोजित नवनिर्वाचित प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा अध्यक्ष ओलीले अधिवेशनको नेतृत्व चयनमा लोकतान्त्रिक अभ्यासका नाममा अस्वस्थ तरिका देखापरेको वताउनुभयो । 
उहाँले भन्नुभयो– भावनात्मक रूपमा व्यक्ति केन्द्रित पक्षधरता देखिएको छ, त्यो गुटको प्रस्थानविन्दु हुन सक्दैन ।
अध्यक्ष ओलीले विरोधी दलहरूले संयुक्त रूपमा प्रहार गरिरहँदा हामी विभाजित भएर प्रस्तुत हुने ? प्रश्न गर्दै त्यस्तो हुनसक्दैन भन्नुभयो । 
हिजोका दिनमा नीति र विधिका चर्को कुरा गर्नेहरूले कार्यकर्ता भाड्ने र पार्टी फुटाउने काम गरेको चर्चा गर्दै अध्यक्ष ओलीले नीति र विधिमा छिद्र खोज्ने होइन, नीति र विधिको सदुपयोग गरेर पार्टीलाई मजबुत बनाउनुपर्छ भन्नुभयो । 
पन्ध्रबर्ष पार्टीको प्रमुख नेता र प्रधानमन्त्री भइसकेपछि अब पार्टीबाट दुहुने कुरा सिद्धियो भन्ने भएपछि माधन नेपालले दुईतिहाई भन्दा बढीको सरकार ढालेर, पार्टी फुटाएर दक्षिणपन्थीको पाउमा सानो टुक्रा भेटी चढाएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो– त्यो अवस्थामा, तिनीहरूलाई पराजित गरेर पार्टीलाई मजबुत वनाएर ल्याएका छौं, अझ बलियो बनाएर लैजाने छौं । 
उहाँले पार्टीको आन्तरिक एकता सुदृढ हुँदा बाहिरका जतिसुकै प्रयास गरे पनि केही गर्न नसक्ने बताउनुभयो ।


उहाँले नवनिर्वाचित कमिटीलाई कार्ययोजना बनाई प्रदेश कमिटीका सबै सदस्यलाई काममा लगाउने गरी कार्यविभाजन गर्न निर्देशन दिनुभयो । 
आगामी निर्वाचनमा ५१ प्रतिशत मतसहित एकल बहुमत ल्याउने लक्ष्य निर्धारण गरी मिसन–२०८४ अभियानका रूपमा पार्टी काम अगाडि बढिरहेको हुँदा सिङ्गो पार्टीपङ्ती सक्रियताका लाग्नुपर्ने वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– बैठकदेखि बैठकसम्म होइन, वडा÷वडामा जिम्मेवारी तोकेर काम गर्नुपर्छ र बैठकमा आउँदा प्रतिवेशन बुझाउनुपर्छ, नेतृत्वले कामको अनुगमन गर्नुपर्छ । 
‘दशवटा टाउका भएको सरकारले कति काम गर्दो रहेछ देखिइसकेको  छ,’ अध्यक्ष ओलीले भन्नुभयो– अब एमाले विकासको नायक बन्नुपर्ने र यसका नेताकार्यकर्ताले विकासको नायकत्व लिनुपर्छ ।  
२०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याए पनि देशभक्त र राष्ट्रियताको रक्षा र सम्बद्र्धनका पक्षमा रहेका सबैलाई सँगै लिएर जाने स्पष्ट गर्दै उहाँले भन्नुभयो– हामी हाम्रो अगुवाईमा राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौँ । 
‘एमाले दरोगरी नलागेको भए संविधान बन्ने थिएन । एमाले दृढताका साथ नलागेको भए दोस्रो संविधान सभाको चुनाव हुने थिएन । संविधान जारी नगर्नेसम्मको षडयन्त्र भएको थियो । त्यसो भएको भए देश जातीय, साम्प्रदायिक विद्वेष, घृणा र कलहमा जान्थ्यो’ चर्चा गर्दै अध्यक्ष ओलीले अहिले पनि हिंसा भड्काउने प्रयास भइरहेका र त्यसलाई रोक्ने वैज्ञानिक विचार एमालेसँग रहेको वताउनुभयो । 
नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा बाग्मती प्रदेश ईन्चार्ज गुरु बरालको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कैलाश ढुङ्गेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउँदै पार्टीको मिसन २०८४ सफल पार्न कार्ययोजना बनाई अगाडि बढ्ने वताउनुभयो । 
अधिवेशनमा अध्यक्षका प्रत्यासी नेता कृष्णप्रसाद दाहालले बाग्मतीमा खस्केको पार्टी कामलाई पुरानो अवस्थाभन्दा पनि सुदृढ बनाउने गरी काम गर्नुपर्ने परिस्थिति रहेको उल्लेख गर्दै कमिटीले अगाडि बढाउने सकारात्मक काममा आफू सँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।