detail-img

देशको विकास र समृद्धि नेकपा (एमाले)को नेतृत्वमा मात्र सम्भवः अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा एमालेको प्रतिस्पर्धी नै नभएको बताउनु भएको छ । एमाले विचार र जनाधार दुवै भएको पार्टी भएकाले देशको विकास र समृद्धिको अगुवाइ पनि एमालेले मात्र गर्न सक्ने वताउनुभयो । 
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबार (२०८० असोज १९ गते) उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिस्पर्धा गर्न नसक्ने विपक्षीहरूले एमालेविरुद्ध षड्यन्त्र गरिरहे पनि ती षडयन्त्रलाई असफल पार्दै अघि बढिने वताउनुभयो ।

 
अध्यक्ष ओलीले भन्नुभयो– द्रव्य शाहको तरिकाका षडयन्त्रहरू आज सफल हुँदैनन् प्रतिस्पर्धाबाटै श्रेष्ठता कायम गर्नुपर्छ भन्ने कुरा उनीहरूले बुझ्नुपर्छ ।
उहाँले एमालेका कार्यकर्ताहरूलाई कार्यक्षमता अभिवृद्धि गरी सक्रियता बढाउन र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न निर्देशन दिनुभयो । 
एमाले अधिवेशनलाई लिएर विरोधीहरूले एकोहोरो टिप्पणी गरिरहेको भन्दै अध्यक्ष ओलीले उपत्यका विशेष प्रदेशको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेर नमूना बन्न र एमालेमा डेमोक्रेसी नै भएन भन्ने अवस्था सिर्जना गर्न आग्रह गर्नुभयो । 
उहाँले कार्यकर्तालाई सामाजिक सञ्जालमा अनावश्यक कुरा राखेर समय खर्च नगर्न आग्रह गर्नुभयो । सामाजिक सञ्जाललाई सिर्जनात्मक प्रयोग गर्न, भ्रम चिर्न र जागरणको लागि हस्तक्षेप गर्न निर्देशन दिनुभयो । सामाजिक सञ्जालमा बेठीकका विरुद्ध र ठीकको पक्षमा सक्रियता र हस्तक्षेप बढाउनुपर्नेमा जोड दिनुभयो । 
अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त भूमि र दक्ष जनशक्ति भएको नेपालका युवाहरु विदेशी भूमिमा रोजगार खोज्न जानु देशको लागि विडम्बना भएको बताउनुभयो ।  
देशको युवा जनशक्तिलाई स्वदेशी भूमिमा परिचालन गर्न नसकेकै कारण मुलुक गरिबीको रेखाभन्दा माथि उठ्न नसकेको उहाँको भनाइ छ । 
‘नेपाली युवाहरुको परिश्रम र मेहनतले विदेशी राष्ट्रहरु समृद्ध भइरहेका छन्, हामीले आफ्नो जनशक्तिलाई स्वदेशी भूमिमा काम लगाउन सकेका छैनौं’ अध्यक्ष ओलीले भन्नुभयो– एमालेको अभियान युवालाई स्वदेशमै रोजगार बनाउने हो, आफ्नै भूमिमा सुन फलाउने हो, त्यसका लागि सिङ्गो पार्टी परिचालित छ ।
नेपाललाई प्रकृतिले सबै चिज प्रदान गरेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले त्यसको सदुपयोग गर्न नसक्नु नै सबैभन्दा कमजोरी भएको बताउनुभयो । 
नेपालमा रहेका हिमाल, पहाड, तराई, जल जंगल, अथाह पानी, जडिबुटी, चट्टान, फलाम तथा खानीजन्य चिजको सही सदुपयोगका लागि युवा शक्ति यही परिश्रम गर्नुपर्छ” उहाँले भन्नुभयो– हाम्रो देश हामीले नै बनाउने हो, कोही बाह्य व्यक्ति आएर बनाउँदैन, हाम्रो पसिना यही बग्नुपर्छ । हाम्रा युवाहरू यही श्रम गर्नुपर्छ । त्यसको नेतृत्व एमालेका नेता तथा कार्यकर्ताको विशाल पङ्तीले गर्नुपर्छ ।
विश्वलाई ज्ञान सिकाउने ज्ञानको उद्गमस्थल नेपाल भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले नेपालीलाई सिर्जनात्मक र बहुआयामिक क्षमतावान बनाएर नेपाल बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । 
‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना एमालेले गरेको बताउनुहुँदै उहाँले हाम्रै पालामा नेपाल समृद्ध बनाउन सबै लाग्नुपर्छ, भन्नुभयो । 
‘एमाले जनआधारित पार्टी भएकाले जनताको हितमा, देशको हितमा मात्र काम गर्नुपर्छ’, अध्यक्ष ओलीले भन्नुभयो– हामीलाई त्यतिकै बस्न छुट छैन, हाम्रा कार्यकर्ता काम गर्ने दक्ष कार्यकर्ता हुन्, आफ्नो सीप, दक्षता र क्रियाशीलता प्रदर्शन गरेर नेपाललाई बनाउन सकिन्छ ।
कार्यकर्तामा अनुशासन अनिवार्य रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले अनुशासनविना परिवार, समाज, पार्टी र देशको कल्पना गर्न नसकिने बताउनुभयो । 
संविधानमा सबै कुराको व्याख्या गरेर सम्भव नहुने भन्दै उहाँले अनुशासनले व्यक्ति, परिवार, समूह, समाज, पार्टी र देशलाई नै बाँध्ने काम गर्नेगरेको उहाँले चर्चा गर्नुभयो । 
पार्टीको नीति, देशको ऐन कानुन, संविधान सबै अनुशासनकै एक रूप भएको उहाँले व्याख्या गर्नुभयो । 
सो समारोहमा अध्यक्ष ओलीले उपत्यका प्रदेश कमिटीको वेबसाइट शुभारम्भ गर्नुभएको थियो । उहाँले मूलबाटो वैचारिक मुखपत्रको दोस्रो अङ्क सार्वजनिक गर्नुभएको थियो ।


उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उपत्यका विशेष प्रदेश कमिटीले मजदुर, युवा, विद्यार्थी, उद्यमीहरूलाई नेतृत्व गर्ने हुनाले यसको विशेष महत्व रहेको भन्नुहुँदै सबै पक्षलाई मिलाएर नयाँ नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । सके सर्वसहमति नसके स्वस्थ प्रतिस्पर्धाबाट सक्षम नेतृत्व छान्न उहाँले आग्रह गर्नुभयो ।
नेपालमा राजनीतिक स्थायित्व नभएकै कारण देशको विकास हुन नसकेको चर्चा गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो–आगामी निर्वाचन २०८४ मा एमाले एक्लैले ५१ प्रतिशत मत ल्याएर राजनीतिक स्थायित्व कायम गर्नुपर्छ, अनिमात्र देशको विकास सम्भव छ ।
देशको समृद्धि एमालेकै नेतृत्वमा मात्र सम्भव रहेकाले त्यसअनुरुप काम गर्न उहाँले पार्टी कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो ।


महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय राजनीति चुनौतीपूर्ण र सङ्कटग्रस्त रहेको बताउँदै ती चुनौती सामना गर्न नेकपा (एमाले) लाई बलियो बनाउनु आवश्यक रहेको बताउनुभयो ।
देश बन्न नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता भएको  प्रष्ट पार्दै महासचिव पोखरेलले एमालेलाई एक्लै बहुमत प्राप्त गर्ने शक्तिको रूपमा विकास गर्न अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । 
उहाँले भन्नुभयो– राजनीति अस्थिरता हाम्रो देशका लागि अभिशाप बनिरहेको छ ।
सामाजिक अराजकता आजको अर्को ठुलो चुनौती रहेको र नेपाल राष्ट्रलाई कमजोर बनाउन यस्ता क्रियाकलाप भएको उहाँले प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले भन्नुभयो– नेपाली समाजलाई कमजोर बनाउनका लागि धार्मिक, जातीय र सांस्कृतिक द्वन्द्व फैलाउने प्रयास भइरहेको छ । 
नेपाललाई सामाजिक सुरक्षामा आधारित लोककल्याणकारी राज्य बनाउने एमालेको अभियानलाई असफल बनाउन अदालतको सहारा लिएर एमाले नेतृत्वको सरकार ढाल्ने काम गरिएको भन्दै उहाँले एमाले जनताको जीवन सुरक्षा, देशको विकास, समृद्ध र राष्ट्रियताको पक्षमा गरेको काम देखेर एमालेलाई नियोजित रूपमा विभाजन गर्ने काम गरिएको प्रष्ट पार्नुभयो । 
गठबन्धन सरकारले जनता र राष्ट्रलाई कुनै सकारात्मक सन्देश दिन नसकेको भन्दै महासचिव पोखरेलले सरकार साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको वताउनुभयो । 
गठबन्धन सरकारले समाजवादका नाममा दलाल पुँजीपतिहरूलाई संरक्षण गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । 
महासचिव शंकर पोखरेलले देशलाई समृद्ध बनाउन युवा पलायन रोक्न अनिवार्य रहेको चर्चा गर्नुहुँदै युवालाई सिर्जनशील काममा लगाउन एमालेपङ्ती सक्रिय हुनुपर्ने बताउनुभयो । परिवर्तनलाई आत्मसात् गर्न नसकेको एउटा क्षेत्र कर्मचारी क्षेत्र रहेकाले कर्मचारी क्षेत्रलाई समयअनुरुप परिवर्तनउन्मुख बनाउने जिम्मेवारी एमालेका संगठनले गर्नुपर्छ, उहाँले भन्नुभयो । 
पार्टीभित्र अहिलेको समस्या सबैलाई पद पाउनैपर्ने चिन्तन भएको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो– पार्टीभित्रका योग्य र क्षमतावान्ले नेतृत्व लिनुपर्छ, कामचोर र ठग प्रबृत्तिका व्यक्तिले नेतृत्वका लागि अघि सर्नु हुन्न । को व्यक्ति सही हो भन्ने कुरा पार्टीकै नेता कार्यकर्तालाई जानकारी हुने हुनाले, योग्यलाई अघि सारौं ।
उहाँले नेतृत्व सकेसम्म सर्वसम्मत चयन गर्न आग्रह गर्नुहुँदै सम्भव नभए प्यानलरहित ढङ्गले एक्लाएक्लै उम्मेदवारी दिन सुझाउनुभयो । 
पार्टीको नेतृत्वमा आउनु भनेको देश बनाउने नेतृत्व गर्ने जिम्मेवारी पनि हो भन्नुहुँदै महासचिव पोखरेलले भन्नुभयो– सहमति गर्नु समुन्नत लोकतन्त्र हो, लोकतन्त्रको सही सदुपयोग गर्न सहमति र समन्वयको बाटो तय गर्नुपर्छ ।


उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य तथा उपत्यका प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले उपत्यका प्रदेश कमिटीको प्रथम ऐतिहासिक अधिवेशनको सफलताका लागि शुभकामना दिनुहुँदै प्रदेश कमिटी गठनदेखि हालसम्मका राजनीतिक तथा सांगठानिक अवस्थाका विषयमा चर्चा गर्नु भएको थियो । 
अधिवेशनको बन्द सत्र पोलिटब्यूरो सदस्य तथा प्रदेश कमिटीका ईन्चार्ज सुजिता शाक्यको अध्यक्षतामा आजै सुरू भएको छ । अध्यक्ष मण्डलमा पार्टीका केन्द्रीय सदस्यहरू बीना श्रेष्ठ, गोविन्द दुलाल, सीता लामा, बालिका गिरी, केन्द्रीय लेखा आयोगका सदस्य प्रेमप्रसाद पराजुली र सल्लाहकार परिषद्का सदस्य बाबुराम अधिकारी रहनुभएको छ । 
बन्दसत्रमा केन्द्रीय लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख  काशिनाथ अधिकारीले मन्तव्य राख्नुभएको थियो । 
बन्दसत्रमा कमिटीका निवर्तमान अध्यक्ष प्रेमकुमार पराजुलीले राजनीतिक तथा सांगठानिक प्रतिवेशन पेश गर्नुभएको छ  भने प्रदेश सदस्य तथा आर्थिक विभागका प्रमुख केशव घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । 
दुईदिने प्रदेश कमिटीको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा ३०४ जना प्रतिनिधि सहभागी छन् ।