detail-img

उपत्यका विशेष प्रदेशः पराजुलीको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी निर्वाचित

काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन प्रेमकुमार पराजुलीको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ । 
पाँच पदाधिकारीसहित ७५ सदस्यीय नयाँ प्रदेश कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल र उपसचिवद्वयमा उर्मिला सुनुवार र जितेन्द्र श्रेष्ठका साथै कमिटीका सबै सदस्यहरू सर्वसम्मत निर्वाचित हुनुभएको छ । 
अध्यक्ष पराजुली, उपाध्यक्ष कार्की र उपसचिव सुनुवार यस अघि पनि सोही जिम्मेवारीमा हुनुहुन्थ्यो भने सचिव धरेल र उपसचिव  श्रेष्ठ यस अघि प्रदेश कमिटीका सदस्य हुनुहुन्थ्यो । अधिवेशनले सात सदस्यीय लेखा कमिटी पनि सर्वसम्मत निर्वाचित गरेको छ । 
अध्यक्ष र सचिवमा क्रमशः चन्द्र रिजाल र चिरन्जिवी पौडेलले उम्मेदवारी दिनुभए पनि सर्वसम्मत नेतृत्व चयनको चाहना, भावना र पहलमा उम्मेदवारी फिर्ता गर्नुभएपछि सर्वसम्मत भएको थियो । 
उपत्यका विशेष प्रदेश कमिटीे राजधानीमा रहेको नेकपा (एमाले) को गैरभौगोलिक प्रदेश कमिटी हो । विभिन्न पेशा, व्यवसाय, श्रमिक र युवाविद्यार्थीका चार जिल्ला कमिटी, करिव पाँचदर्जन इलाका कमिटी र शाखा कमिटी अन्तर्गत दशहजार भन्दा बढी पार्टी सदस्य यस प्रदेश अन्तर्गत क्रियाशील रहेका छन् ।