detail-img

वर्तमान सरकार देश र जनताप्रति उत्तरदायी छैनः अध्यक्ष ओली

कैलाली । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट देशको रक्षा हुन सक्ने अवस्था नरहेको बताउनुभएको छ । 
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश अधिवेशनको आइतबार (२०८० असोज २१ गते) उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश र जनताप्रति उत्तरदायी नभएको र जनतालाई आशा जगाउने काम गर्न नसकेको बताउनुभयो । 
उहाँले नेकपा (एमाले) नेतृत्वको सरकारपछि अर्थतन्त्र ओरालो लागेर अहिले अर्थतन्त्र सङ्कटको अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– नेकपा (एमाले)ले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ । एमाले सरकारका पालामा सात प्रतिशतभन्दा माथि पुर्याइएको आर्थिक बृद्धिदर गठबन्धनले दुई प्रतिशतभन्दा तल झारिसकेको  छ । देश अप्ठेरो अवस्थामा पुगेको छ । उहाँले देशलाई अझै अप्ठेरो अवस्थामा पुर्याउनु नहुने बताउनुभयो ।


सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले पछाडि परेको भन्दै अध्यक्ष ओलीले प्रदेशलाई आधुनिक, विकसित र समृद्ध बनाउन चाहेको र २०८४ पछि एमालेले बहुमतको सरकार बनाउने र विकास र समृद्धिको कामलाई गति दिने बताउनुभयो । 
उहाँले एमाले नेतृत्वको सरकारपछि देश र जनताको रक्षा र ओरालो लागेको देशको अर्थतन्त्र उकालो लाग्ने बताउनु भयो।
अध्यक्ष ओलीले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनले नेतृत्व चयनमा नयाँ सन्देश दिन सक्नुपर्ने बताउनुभयो । 
उहाँले सर्वसम्मत नेतृत्व चयन गर्नको प्रयास गर्न आग्रह गर्नुभयो । 
नेतृत्वले गर्ने मूल्याङ्कन नमानेर आफ्नो आफै मूल्याङकन गर्ने प्रवृत्ति अनुपयुक्त भएको तर्क गर्दै अध्यक्ष ओलीले भन्नुभयो– कुनै पूर्वाग्रह नराखी प्रदेशको नेतृत्व चयनमा खटिन पार्टीका नेताहरूलाई आग्रह गर्छु ।
प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू समाधान गर्न सक्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।
पार्टीकाविरुद्ध चौतर्फी हमला भइरहेकाले त्यसलाई पराजित गर्न नेता तथा कार्यकर्ताले दृढताका साथ काम गर्नुपर्नेमा जोड दिँदै उहाँले सभ्य, शालीन र शान्तिपूर्ण समाज निर्माणका लागि योगदान गर्न आह्वान गर्नुभयो ।
अध्यक्ष ओलीले सरकारले तस्करीको सुन छानबिन गर्न नचाहेको र सुन तस्करीको अनुसन्धानमा तमासा मात्र गरेको भनाइ राख्नुभयो । सरकार तस्करी ढापछोप गर्न लागेकै कारण जाँचबुझ आयोग बन्न समय लागेको उहाँले बताउनु भयो ।
उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली जनताका लागि होइन, विदेशीका लागि कम्फरटेवल भएको बताउनुभयो । 
उहाँले वर्तमान सरकार जनताप्रति उत्तरदायी र संवेदनशील नभएको भनाइ राख्नुभयो । 
महासचिव पोखरेलले इजरायलमा भएको हिंसात्मक घटनामा परी नेपाली विद्यार्थीहरू समस्यामा पर्दा समेत सरकारले ठोस पहल कदमी चाल्न नसकेको भन्दै उक्त घटनामा सरकार बेखवर जस्तै बनेको बताउनुभयो ।
‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हमासको आक्रमणको शिकार भएका छन्, उनीहरुको नियन्त्रणमा छन् तर सरकार आफ्ना नागरिक के कस्तो अवस्था छन् भन्ने कुरामा बेखवरजस्तै छ’, महासचिव पोखरेलले भन्नुभयो, ‘यो सरकार नेपाली नागरिकप्रति संवेदनशील छैन भन्ने यस घटनाबाट पुष्टि हुन्छ ।
नेकपा (एमाले)ले जनताको विकास र समृद्धिको आधार तय गरिरहेको बेला आफ्नै पार्टीको सरकारलाई एक्लाउन लागेकाहरूलाई जनताले राष्ट्रिय पार्टी समेत नबनाएको स्मरण गर्दै महासचिव पोखरेलले एमाले पहिलो पार्टी मात्रै भएर नहुने भन्दै अब एकल बहुमतको सरकार बनाउन सक्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले गरेको विदेश भ्रमणबाट देशलाई कुनै फाइदा नभएको उहाँको भनाइ छ । 
महासचिव पोखरेलले देश र जनताको लागि एमाले बाहेक अरू कुनै पनि पार्टीले केही गर्न नसक्ने वताउनुुभयो । 
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पार्टीका सचिव तथा सुदूरपश्चिम प्रदेशका ईन्चार्ज छविलाल विश्वकर्मा, सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा लगायत नेताहरूले बोल्नुभएको थियो ।  
यसैबीच, नेकपा एकीकृत समाजवादी प्रदेश कमिटी तथा डोटी जिल्ला कमिटीका नेताहरू दीर्घराज बोगटी, देवबहादुर खड्का, मानबहादुर बोगटी, मेघराज भट्ट  एमालेमा फर्कनुभएको छ । उहाँहरूलाई अध्यक्ष ओली, महासचिव पोखरेल लगायत नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।