detail-img

अध्यक्ष ओलीद्वारा इजरायल आक्रमणको निन्दा र भर्त्सना, तत्काल उद्धार तथा घाइतेको उपचारको माग

काठमाडौं । नेकपा (एमाले)ले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा  गरिएको आक्रमणको घटनाप्रति निन्दा र भर्त्सना गरेको छ । 
अध्यक्ष केपी शर्मा ओलीले आज वक्तव्य प्रकाशित गरी घटनामा परी निधन हुनेहरूप्रति श्रद्धाञ्जलीका साथै समस्त आफन्तजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । 
यस आक्रमणमा नेपालीहरूको पनि ज्यान जानुका साथै ठूलो सङ्ख्यामा घाइते भएको समाचार आइरहेका र कयौं अफ्ठ्यारो परिस्थितिमा परेको सूचना आइरहेका उल्लेख गर्दै अध्यक्ष ओलीले वक्तव्यमा भन्नुभएको छ– हामी यस घटनाबाट ‘लर्न एण्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न जानुभएका विभिन्न विश्व विद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा अत्यन्त दुःखित छौँ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दशैँको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ । म सबैमा धैर्यधारण गर्न आग्रह गर्दछु । 
अध्यक्ष ओलीले घटनामा परी घाइते हुनुहुनेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि नेपाल सरकारसमक्ष पुनः जोडदार माग गर्नुभएको छ । 
वक्तव्यमा निर्दोष नागरिक, बृद्धबृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन बरु थप बढाउन मद्दत गर्छ भन्ने पार्टीको ठम्याइ रहेको उल्लेख गरिएको छ ।