detail-img

पेशागत विशेष जिल्ला कमिटीको अधिवेशन फागुन ५ गते 

काठमाडौं । नेकपा (एमाले) पेशागत विशेष जिल्ला कमिटीको अधिवेशन आगामी फागुन ५ गते हुने भएको छ । 
नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा पेशागत जिल्ला कमिटी इन्चार्ज बीना श्रेष्ठ र उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको उपस्थितिमा जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष मोहनकुमार पराजुलीको अध्यक्षतामा हालै बसेको जिल्ला कमिटीको ११औं पूर्ण बैठकले अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । 
बैठकले अधिवेशन भव्यरूपमा सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा विभिन्न समितिहरू गठन गरेको छ । सो अनुसार, कार्यवाहक अध्यक्ष मोहनकुमार पराजुलीको संयोजकत्वमा १० सदस्यीय राजनीतिक तथा सांगठानिक प्रतिवेदन लेखन समिति गठन गरिएको छ । 
त्यसैगरी विवेक श्रेष्ठको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति, लेखनाथ अधिकारीको संयोजकत्वमा समसामयिक प्रस्ताव लेखन समिति, एलडि भुसालको संयोजकत्वमा अतिथि सत्कार समिति, वसन्तराज मैनालीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, शंकर क्षेत्री तिवारीको संयोजकत्वमा लजिस्टिक व्यवस्थापन समिति, कल्पु आचार्यको संयोजकत्वमा स्वास्थ्य समिति, केदार भट्टराईको संयोजकत्वमा प्रचार प्रसार समिति, आकाश केसीको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति र नारायण थापाको संयोजकत्वमा खाना, खाजा व्यवस्थापन समिति गठन गरिएको छ । 
अधिवेशनमा तीनसय जना प्रतिनिधि सहभागी हुने छन् । प्रतिनिधि छनौट कार्य यही माघ २४ गतेसम्म गर्न बैठकले मातहत इलाका कमिटीहरूलाई निर्देशन गरेको छ । प्रतिनिधि छनौट गर्दा एकतिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न र युवा, आदिवासी÷जनजाति, दलित, अल्पसङ्ख्यक समुदायको समावेशी प्रतिनिधित्व गराउने विषयलाई ध्यान दिन भनिएको छ । 
बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा पेशागत विशेष जिल्ला कमिटी इन्चार्ज बीना श्रेष्ठ र उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीले अधिवेशन भव्यरूपमा सम्पन्न गर्न समयमै आवश्यक तयारी थाल्न निर्देशन दिनुभएको थियो ।