detail-img

वर्तमान गठबन्धन सरकार देश र जनताका लागि कुनै पनि  हिसावले हितकर छैनः महासचिव पोखरेल

म्याग्दी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारले जनताको चाहना अनुरुपको कामै गर्न नसकेको बताउनुभएको छ । 
नेकपा (एमाले) म्याग्दीको दशौं जिल्ला अधिवेशनको शुक्रबार  बेनीमा उद्घाटन गर्दै महासचिव पोखरेलले सरकारले जनताको चाहना अनुरुपको काम गर्नेतर्फ ध्यानै नदिई जनविरोधी कार्यमा उद्यत रहेको बताउनुभयो ।


उहाँले सत्ता जोगाउन विदेशीसामु घुँडा टेकेको बताउँदै नेपाल र नेपाली जनताको लागि यो सरकार कुनै पनि हिसाबले हितकर नरहेको र अहिलेको सरकारकै कारण देश सङ्कटमा परेको भनाइ राख्नुभयो । 
महासचिव  पोखरेलले गठबन्धन सरकारका प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा देशले के पाउँछ वा ल्याउने छ भनेर आशा गर्नुसट्टा देशले के गुमाउनुपर्नेको भन्ने चिन्ता आम जनतामा हुने गरेको बताउनुभयो । भारतीय नाकाबन्दीको सामना गर्दै स्वाधीनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा एमाले खरो उत्रिएको स्मरण गराउँदै उहाँले भन्नुभयो– गठबन्धन सरकारले विदेशीसामु नेपालीको शीर उँचो बनाउने भन्दा पनि झुकाउने काम गरेको छ । 
महासचिव पोखरेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले नेपालको नक्सामा कालापानी लिपुलेक र लिम्पियाधुरा समेट्नुका साथै चीनसँग पारवाहन सन्धि गरेर दीर्घकालीन हितको पक्षमा काम गरेको बताउनुभयो ।
कांग्रेस नेतृत्वको सरकारको पालामा भएको नाकाबन्दीलाई एमाले आएर चिरेको र नाकाबन्दीको सामना गरिरहेकै समयमा चीनसँग व्यापार, पारवहन सम्झौता गर्दै भारतसँग बर्षौदेखि नसुल्झिएका समस्या सुल्झाउने कामको नेतृत्व गरेकोतर्फ स्मरण गराउँदै उहाँले भन्नुभयो– अहिलेको सरकार भारतको अनुकूल हुने गतिविधिमा केन्द्रित भएको छ ।
अहिलेको सरकारले मुलुकलाई कमजोर अवस्थामा पुर्याएकाले एमाले सत्ता बाहिर भए पनि अन्तर्राष्ट्रिय फोरमहरूमा जनताको पक्षमा, राष्ट्रिय हितको एजेण्डामा निरन्तर अडान लिएर आगाडी बढ्दै गरेको महासचिव पोखरेलले बताउनुभयो । 
मुलुक बनाउने एजेण्डा बोकेको नेकपा (एमाले) सत्ता बाहिर हँुदा जनताले दुख पाएका र सरकारले भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षकको रूपमा काम त गरेको छैन भनेर आम जनताले शङ्का गरेको भनाइ उहाँले राख्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– अहिलेकै सरकारको निरन्तरता हुनु भनेको देश बर्बादीको मार्गमा अगाडी बढ्नु भएको हुनाले यस्तो अवस्थाबाट मुलुकलाई जोगाउनका लागि पनि वर्तमान गठबन्धन सरकार विस्थापित हुनुपर्छ ।
वर्तमान गठबन्धन सरकारका कारण मुलुकमा अराजकता, दण्डहीनता बढ्नुका साथै भ्रष्टाचार र महङ्गी बढेका उहाँको भनाइ छ ।
नेकपा (एमाले)को सरकारले तीनै तहका सरकारलाई विनियोजन गरेको बजेटलाई वर्तमान सरकारले कटौती गरेकाले अब सबै तहको विकास र मुलुकको समुन्नतिका लागि एमालेको सरकार नै आवश्यक रहेको उहाँले बताउनुभयो । 
अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू गोकर्ण विष्ट र पद्मा अर्याल, स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, खगराज अधिकारी, थममाया थापा, नेकपा (एमाले) गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, नेकपा (एमाले) बागलुङका अध्यक्ष हिरा केसीलगायतले मन्तव्य राख्नुभएको थियो । 
अधिवेशनमा ४१९ जना प्रतिनिधिले भाग लिएका छन् । अधिवेशनमा भाग लिनका लागि जिल्लाका ४५ वटै वडाबाट आएका प्रतिनिधिसहितको र्यालीले बेनीबजार परिक्रममा गरेपछि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो । 
नेकपा (एमाले) म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुबेदीको स्वागत र सचिव सुरत केसीको सञ्चालनमा अधिवेशनको उद्घाटन सत्रको कार्यक्रम भएको थियो । नेकपा एमालेको १०औं जिल्ला अधिवेशनको बन्द सत्र मार्फत शनिबार नयाँ नेतृत्व चयन हुने नेकपा (एमाले) म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।