detail-img

एमाले सबैको भरोसाको पार्टीेः सचिव भट्टराई

रौतहट । नेकपा (एमाले)का सचिव तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा शुरु भएका विकासका योजनाहरू गठबन्धन सरकारले ठप्प पारेको बताउनुभएको छ ।
रौतहटको गरुडामा शुक्रबार आयोजित राष्ट्रिय युवा संघको जिल्ला भेलालाई सम्बोधन गर्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो । देशलाई समृद्ध बनाउने अभियान अन्तर्गत एमाले सरकारको पालामा ल्याएको विकासका योजनाहरू वर्तमान गठबन्धन सरकारले ठप्प बनाएको र देशमै अहिले विकासका कामहरू ठप्प अवस्थामा रहेको सचिव भट्टराईको भनाइ थियो ।
युवालाई स्वरोगार बनाउने, औद्योगिक क्षेत्रको विकासका योजनाहरू, भौतिक पूर्वाधार विकासका योजनाहरू जस्ता काम अहिले ठप्प रहेको उहाँले बताउनु भयो । सचिव भट्टराईले भन्नुभयो– अहिलेको अवस्थामा अन्य दलहरू एकातर्फ छन् भने नेकपा (एमाले) एक्ले अर्कोतर्फ छ तर पनि नेकपा (एमाले) आफ्नो विचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ ।
नेकपा (एमाले) सबै जाति र सबै धर्मको एकताको पक्षमा रहेको बताउँदै उहाँले थप्नुभयो– नेकपा (एमाले) अहिले तराई मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेश एमालेमय बन्ने छ ।
उहाँले पार्टी विभाजनलाई मेट्दै रौतहट विस्तारै पुरानै अवस्थामा पुगिरहेको बताउनुभयो ।
राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तरबिरोध शुरु भएको बताउँदै सचिव भट्टराईले विस्तारै यो गठबन्धन भत्किने छ भन्नुभयो । एमालेको जनमत बढ्दै गएको उल्लेख गर्दै भट्टराईले देशको समृृद्धिको लागि आउँदो निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा एमालेले जित्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य उद्धब रेग्मी, अजयकुमार गुप्ता, रेखा झालगायतले युवा परिचालनका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो । यही माघ २५ र २६ गते नेकपा (एमाले) रौतहटको जिल्ला अधिवेशन हुँदैछ । अधिवेशन भव्यरूपमा सफल बनाउन युवा परिचालनको लागि युवा संघको बैठक राखिएको थियो । बैठक युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादवको अध्यक्षतामा बसेको थियो ।