detail-img

१६औं योजना गरिबी र पछौटेपन हटाउने, समृद्धि र आधुनिकतातर्फ अगाडि बढ्ने हुनुपर्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आवधिक योजना लक्ष्य, उद्देश्य र गन्तव्यसहितको हुनुपर्ने बताउनुभएको छ । 
पार्टीको अर्थ तथा योजना विभागले १६औं पञ्चबर्षीय योजनाको सन्दर्भमा विभिन्न विषयमा छलफल गर्न आज पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले १६औं योजनालाई देशको हितमा बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
देशले बनाउने योजना राष्ट्रिय विकास, राष्ट्रिय आवश्यकताको दस्तावेज हुने भएको र त्यसले सबै क्षेत्रको उत्थानसँग सम्बन्ध राख्ने स्पष्ट गर्दै अध्यक्ष ओलीले नेपालमा भने सरकार परिवर्तनसँगै योजना अलपत्र हुने नराम्रो परिपाटीको विकास भएको बताउनुभयो । 
उहाँले पाँचबर्षका लागि योजनामा प्रस्तुत गरिएका ‘भिजन’, ‘मिसन’ र ‘पोेलिसी’ सरकार परिवर्तन भए पनि ‘फलो’ गर्नुपर्ने बताउनुभयो ।


नेकपा (एमाले)ले देशको आवश्यकता अनुसार नीति बनाउने हुँदा ति सबै नीति राष्ट्रिय नीति हुने र त्यस अनुसार एमाले पनि चल्ने स्पष्ट गर्दै अध्यक्ष ओलीले तर, राष्ट्र र जनताको आवश्यकतामा निर्मित ‘समृद्ध नेपाल, सुखी नेपाली’ अहिलेको सरकारलाई मन नपर्ने विषय भएको छ भन्नुभयो ।
’हाम्रो अर्थतन्त्र समाजवाद उन्मुख हुनैपर्छ, संविधानमा पनि समाजवादउन्मुख अर्थतन्त्र भनिएको छ’, चर्चा गर्दै अध्यक्ष ओलीले देशको अवस्था र आवश्यकता अनुसार योजना बन्नुपर्ने र १६औं पञ्चबर्षीय योजना गरिबी र पछौटेपन हटाउने, समृद्धि र आधुनिकतातर्फ अगाडि बढ्ने हुनुपर्छ भन्नुभयो । 
देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको र यो दिगो विकास उद्देश्यसँग मेल नखाने उल्टो रहेको बताउँदै अध्यक्ष ओलीले दिगो विकासका लागि उत्पादन र उत्पादकत्वमा बृद्धिको विकल्प नभएकोमा जोड दिनुभयो । उहाँले दिगो विकासका लागि हामीकहाँ अत्यन्त उपयुक्त प्रकृति र मौसम रहेको बताउँदै प्रकृतिले दिएका जमीन, जडिबुटी लगायतका चिजहरू अत्यधिक सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  
अध्यक्ष ओलीले लगानी गर्दा पनि रोजगारी र उत्पादन बृद्धिका क्षेत्रमा गर्नुपर्ने बताउनुभयो । 
पार्टीका स्थायी कमिटी सदस्य तथा विभाग प्रमुख डा. विन्दा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विषयविज्ञहरू डा. शिव अधिकारीले ‘१६औं पञ्चबर्षीय योजना’, डा. गिरिधारी शर्मा पौडेलले ‘दिगो विकास लक्ष्यमा भएको प्रगति’ र डिल्ली उप्रेतीले ‘बैंकहरूको हालको अवस्था’ गरी तीनवटा विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको थियो । 
कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत कुमार बोहरा,  अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सदस्यहरू, विषय विज्ञहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विभागका सचिव क्रान्ति बुर्लाकोटीले सञ्चालन गर्नुभएको थियो ।