detail-img

देश बचाउने जिम्मा एमालेको काँधमाः सचिव अर्याल

बुटवल । नेकपा (एमाले) का सचिव एवं लुम्विनी प्रदेश इन्चार्ज पद्मा अर्यालले देश बचाउने जिम्मा एमालेको काँधमा आएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई आइतबार सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सचिव अर्यालले भन्नुभयो– अर्थतन्त्रका पछिल्ला तथ्याङ्क डरलाग्दा आएका छन् । राजश्व उठ्ने क्रम पहिलाभन्दा प्रतिमहिना चार अर्ब कम छ । प्रतिमहिना एक खर्ब १५ अर्ब १४ करोड व्यापार घाटा छ ।
उहाँले बीस करोड रुपियाँसम्म भारतले नेपालमा आएर सिधै खर्च गर्ने व्यवस्था डरलाग्दो भएको र यो नेपाल कब्जा गर्ने रणनीति अन्तर्गत हो भन्नुभयो । 
कम्युनिष्ट पार्टीका नामबाट सत्ता चलाएको अवस्था रहे पनि  प्रधानमन्त्री कुर्सी डगमगाउला भनेर लम्पसार भइरहेको बताउँदै सचिव अर्यालले टीआरसी भारतले नै टुङ्गो लगाउन नदिने स्पष्ट छ भन्नुभयो ।  
उहाँले सरकारका सबै प्रकारका कुकर्मलाई जनताका बीच राखेर राजनीतिको कोर्स परिवर्तन अबको आवश्यकता रहेको भनाइ राख्नुभयो ।
प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको बैठक सचिव लक्ष्मण आचार्यले सञ्चालन तथा स्वागत उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
बैठकमा पोलिटव्युरो सदस्य लीला गिरीले प्रदेश स्थापनाकालमा महासचिव शंकर पोखरेलको नेतृत्वमा बनेको सरकारले सबैभन्दा धेरै बजेट खर्च गर्न सकेको प्रसङ्ग उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले पनि कृषिको माध्यमबाट समृद्घ प्रदेश बनाउने प्रयत्न गरेकोमा अहिले कार्यकर्ता पोस्ने र भ्रष्टाचारलाई संस्थागत गर्ने तरिकाले काम भएको बताउनुभयो । उहाँले यो विषयलाई जनताका बीचमा लैजान पार्टी पङ्क्ति सक्रिय हुन आवश्यक रहेको बताउनुभयो ।  
बैठकमा लुम्बिनी प्रदेशबाट भूकम्प प्रभावित पश्चिम रुकुममा २०५ जना स्वयंसेवक खटाएकोमा सो अभियान प्रभावकारी रहेको निष्कर्ष बैठकले निकालेको छ ।
पुष्पलाल मध्यपहाडी लोकमार्गमा सम्पन्न समृद्धिका लागि सङ्कल्प यात्रामा पूर्वी रुकुम र गुल्मीले गरेको कामको उच्च मूल्याङ्कन गर्दै बैठकले धन्यवाद ज्ञापन गरेको छ । बैठकले सल्लाहाकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च र ३१ वटा विभागहरूलाई पूर्णता दिएको छ । यसबाहेक केन्द्रीय निकाय, सल्लाहकार परिषद्मा सिफारिस गर्नुपर्ने नामको सिफारिस गरेको छ ।
बैठकले जिल्ला तथा पालिका र वडास्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक निर्णय गरेको छ । साथै सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने निर्णय गर्नुका साथै जिल्ला र मातहत कमिटीका अधिवेशन गर्नका लागि निर्देश गरेको छ ।
यस्तै जनसंगठनका सन्दर्भमा पनि प्रदेश, जिल्ला तथा मातहत कमिटीका सम्मेलन, बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने र प्रदेश जनसंगठन संयन्त्रको बैठक सञ्चालन गर्नका लागि पनि आवश्यक निर्णय गरेको प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो । 
बैठकमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका पार्टी अध्यक्षहरूले जिल्ला तथा मातहत कमिटीका बैठकको अवस्था, पालिका तथा वडा अधिवेशनको अवस्था, जनसंगठनको अवस्था, प्रशिक्षण कार्यक्रमको तयारीमा केन्द्रित रहेर आ–आफ्नो जिल्लाको रिपोर्टिङ गर्नुभएको थियो ।