detail-img

नेकपा (एमाले) देशका प्रमुख मुद्दाहरूमा  जनपरिचालनमार्फत दबाब सिर्जना गर्ने तयारी गर्दै 

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी देश र जनतासँग सरोकार रहने प्रमुख मुद्दाहरूमा जनपरिचालनमार्फत् राज्यप्रति दबाब सिर्जना गर्ने तयारी गर्दै रहेको बताउनुभएको छ । 
नेकपा (एमाले) उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज पार्टी कार्यालय, च्यासलमा ‘उपभोक्ता हित र सुशासन’ विषयमा सांसदहरूसँग गरेको अन्तर्क्रिया कार्यक्रममा महासचिव पोखरेलले उक्त कुरा बताउनुभएको हो । 
पार्टी देश र जनताको हितसँग सम्बन्धित विषयहरूमा जनतालाई जोडेर दबाबमूलक कार्यक्रम गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्नै लागेको बताउँदै महासचिव पोखरेलले राज्यले मनपरी गरिरहने र पार्टी टुलुटुलु हेरेर बस्ने अवस्था रहँदैन भन्नुभयो । उहाँले उपभोक्ताका सरोकारका विषयमा सडकमा मात्र नभई सदनमा पनि उत्तिकै सशक्त आवाज उठाई सडक र सदनलाई जोडिने बताउनुभयो । 
उहाँले सांसदहरूलाई उपभोक्ता हितसँग सम्बन्धित धेरै विषयहरू रहेका र ति बिषय सदनमा पनि उठाउनु आवश्यक रहेको बताउँदै सदनमा मुद्दाहरू उठाउँदा विषय केन्द्रित भएर व्यवस्थित प्रस्तुतिको योजना बनाउन आग्रह गर्नुभयो ।


पार्टीका पोलिटव्यूरो सदस्य तथा विभाग प्रमुख जितु गौतमको अध्यक्षतामा भएको अन्तर्क्रियामा उपभोक्ता हित तथा सुशासनसम्बन्धी विषयविज्ञहरू ज्योति बानिया र विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ताहरू हरेक क्षेत्रमा मर्कामा परिरहेको विषयमा आ–आफ्ना प्रस्तुति राख्नुभएको थियो । 
नेकपा (एमाले)का उपमहासचिव एवं संसदीय विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठ, प्रतिनिधि सभामा प्रमुख सचेतक पदम गिरी, सचेतक महेश वर्तौला, संसदको दुबै सदनमा विभिन्न समितिमा रहनुभएका सांसदहरू अन्तर्क्रियामा उपस्थित हुनुहुन्थ्यो । 
विभाग प्रमुख गौतमले उपभोक्ता हित तथा सुशासनका विभिन्न क्षेत्रहरू छुट्याई विभागका सदस्यहरूलाई कार्य विभाजन गरिएको जानकारी गराउँदै सांसदहरूलाई आवश्यक पर्ने सहयोग विभाग र विभागका सदस्यहरूबाट प्राप्त हुने व्यवस्था गरिएको बताउनुभयो ।