detail-img

नवनिर्वाचित म्याग्दी जिल्ला कमिटीको पदस्थापन सम्पन्न

म्याग्दी । नेकपा (एमाले) म्याग्दीको १०औं अधिवेशनबाट सर्वसम्मतरूपमा निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरू तथा सदस्यको पदस्थापन सम्पन्न भएको छ । 
आइतबार सम्पन्न अधिवेशनबाट निर्वाचित हुनुभएका अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, उपसचि खड्ग गिरी र सतप्रसाद रोकालाई सोमबार पदस्थापन गरिएको हो । 
निवर्तमान अध्यक्ष देवेन्द्र कटुवालले अध्यक्ष बालकृष्ण सुवेदीलाई पद हस्तान्तरण गर्दै जिम्मेवारी सुम्पनु भएको थियो । त्यस्तै सचिव थमसरा पुनलाई निवर्तमान सचिव सुरत केसीले पार्टीका दस्तावेज तथा माइन्युट हस्तान्तरण गर्नुभएको थियो । 
पदस्थापन कार्यक्रममा बोल्दै नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले नेपाल कम्युनिष्ट पार्टी एमाले पहिलो पार्टी मात्रै नभएर ५१ प्रतिशत मतसहितको पार्टी बनाउनुपर्ने बताउनुभयो ।
उहाँले मुलुक निर्माणका लागि एमाले पहिलो शक्तिको रूपमा आउनुपर्ने र त्यसका लागि पनि ५१ प्रतिशत मतसहितको हुनुपर्ने धारणा राख्नुभएको हो । विगतमा भएका एमाले सरकारले पनि मुलुकको समुन्नतिका लागि प्रयास गरेको स्मरण गराउँदै भन्नुभयो– एमालेले नेतृत्व गरेका हरेक सरकारले जनपक्षीय काम गरेको छ, त्यसैले अब मुलुकको समुन्नतिका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहना पूरा गर्न पनि ५१ प्रतिशतकै एमाले चाहिन्छ ।
त्यसैगरी, नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् म्याग्दी इन्चार्ज गोविन्द नेपालीले एमालेको नयाँ नेतृत्वले म्याग्दीमा गएको निर्वाचनमा गुमेको साख फर्काउने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने अपेक्षा गर्नुभयो । 
उहाँले २०७० को संविधानसभा निर्वाचन र २०७४ को आम चुनावको परिणाम एमालेको पक्षमा आए पनि गठबन्धनका नाउँमा गत निर्वाचनमा कांग्रेसले जितेको म्याग्दीमा विगतमा आफ्नो जितलाई फर्काउनका लागि २०८४ मा एमालेको झण्डा फहराउनै पर्ने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष बालकृष्ण सुवेदीले सबैको त्याग र मेहनत मिसिएर बनेको एमाले पार्टी देश निर्माण अनि देशको नेतृत्वका लागि जिल्ला मजबुत बनाउने जिम्मा आफ्नो काँधमा आएको बताउनुभयो । 
उहाँले भन्नुभयो– म्याग्दीले दिएको जिम्मेवारी कुनै हालतमा पूरा गर्ने र अबको निर्वाचनमा एमालेलाई पहिलो पार्टी मात्रै नभएर खसेको मतको आधा भन्दा बढी एमालेको पक्षमा आउने गरी माहौल बनाउने छौं ।
निवर्तमान सचिव सुरत केसीले सञ्चालन गर्नुभएको पदस्थापन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नरदेवी पुन, प्रदेश कमिटी सदस्यहरू सिर्जना के.सी, खरमाया बिटालुलगायतको उपस्थिति रहेको थियो ।