detail-img

‘संसदमा केपी शर्मा ओली’ ग्रन्थ प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय राजनीतिक अभ्यासका क्रममा संसदमा गर्नुभएका सम्वोधनहरूको सङ्ग्रह ‘संसदमा केपी शर्मा ओली’ ग्रन्थका रूपमा प्रकाशित भएको छ । 
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सो ग्रन्थ आज लोकार्पण गर्नुभयो । सो ग्रन्थमा अध्यक्ष ओलीले २०४८ सालदेखि २०७४ सालसम्म संसदका २३ वटा अधिवेशनका १८३ वटा बैठकमा राख्नुभएका मन्तव्य रहेका छन् । करिव ९०० पृष्ठको सो विशाल ग्रन्थ सानुमैया खड्का (सविता) ले सम्पादन गर्नुभएको हो । 
ग्रन्थ लोकार्पण समारोहमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, राजनीतिक विश्लेषक नीलाम्बर आचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, बरिष्ठ पत्रकार तथा समालोचक पुरुषोत्तम दाहाल, प्रा. डा. जगतप्रसाद उपाध्याय, प्रा.डा. हेमनाथ पौडेल र डा.कल्याण रोकाले अध्यक्ष ओलीको व्यक्तित्व, करिव तीन दशक लामो संसदीय अभ्यासका क्रममा उहाँले व्यक्त गर्नुभएका विचारका विविध पक्ष (देश, जनता, लोकतन्त्र, सुशासन, राष्ट्रियता, भाषा, संस्कृति लगायत)का बारेमा प्रकाश पार्दै ग्रन्थ प्रकाशनबाट ज्यादै कठिन र महत्वपूर्ण काम भएको मन्तव्य राख्नुभयो ।


नेपालको सर्वाधिक प्रतिभाशाली नेताः भण्डारी 
ग्रन्थ लोकार्पण समारोहमा सम्बोधन गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रतिभाशाली नेता भएको बताउनुभयो ।  
पूर्व राष्ट्रपति भण्डारीले नेपाली राजनीतिमा ओलीले शीर्षस्थान बनाउन सफल हुनुभएको र समकालीन राजनीतिमा कुशल नेताको पहिचान बनाउन सफल हुनुभएको भनाइ राख्नुभयो । राजनीतिका अतिरिक्त कला, साहित्य, संस्कृति, धर्म, दर्शन र विज्ञान लगायतका विषयमा समेत गहन ज्ञान भएको  नेता ओली सबैका लागि प्रेरणा र ज्ञानको स्रोत भएको उहाँले बताउनुभयो । 
संसदमा ओलीले गर्नुभएका भाषण राजनीतिक हिसाबले मात्र नभएर विधागत ज्ञानका दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले  पुस्तक पठनीय ग्रन्थ भएको पूर्व राष्ट्रपति भण्डारीको भनाइ छ । पुस्तक इतिहास अध्ययन गर्न चाहने भावी पुस्ताका लागि महत्वपूर्ण हुने बताउँदै पूर्व राष्ट्रपति भण्डारीले पुस्तक ऐतिहासिक दस्तावेज बन्ने विश्वास व्यक्त गर्नुभयो ।


देशको विकास गर्न राष्ट्रिय विश्वासको खाँचोः अध्यक्ष ओली
ग्रन्थ लोकार्पण समारोहमा नेकपा (एमाले)का अध्यक्ष तथा ग्रन्थका नायक केपी शर्मा ओलीले पनि सम्बोधन गर्नुभएको थियो । 
अध्यक्ष ओलीले आफूले संसदभित्र होस् वा बाहिर बोल्दा देश, जनता, लोकतन्त्रका समग्र पक्षमा इमान्दारीपूर्वक बोलेको बताउनुभयो । 
अध्यक्ष ओलीले आफू सम्पूर्ण रूपमा देश, जनता र लोकतन्त्रप्रति समर्पित भएको बताउनुभयो । लोकतन्त्र स्वतन्त्रता मात्र नभएर आर्थिक, सामाजिक परिवर्तनको पक्ष पनि भएको उहाँले बताउनुभयो । राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षसँग सम्बन्धित नभई लोकतन्त्र अघि नबढ्ने धारणा उहाँले राख्नुभयो ।  
अध्यक्ष ओलीले आफूले लोकतन्त्रलाई ठीक ढङ्गले सदुपयोग गरेनौं भने लोकतन्त्र फेरि पनि खतरामा पर्नसक्छ भन्ने गरेको स्पष्ट गर्दै असन्तुष्ट जनताको आक्रोश खतरनाक हुने बताउनुभयो । उहाँले लोकतन्त्रको विकल्प भने लोकतन्त्र नै हो भन्नुभयो ।  
आफूले संसदमा बोल्दा देश र जनताप्रतिको निष्ठाका साथ बोल्ने गरेको अध्यक्ष ओलीले बताउनुभयो । देश बनाउन सकिँदैन भन्ने कुरा गलत भएको र  नेपाल भन्दा साना र ठुला सबै देशले प्रगति गरेको भन्नुहँदै उहाँले देशको विकास गर्न राष्ट्रिय विश्वासको खाँचो रहेको औल्याउनुभयो ।
बाहिर गएर देश बनाउने नेपालीले आफ्नो देश बनाउन नसक्ने कुरै नआउने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– हामीलाई राष्ट्रिय आत्मविश्वासको मात्र आवश्यकता छ । 
युवा र काम गर्ने उमेर समूहको जनशक्ति अधिक भएको बेलामा देश बनाउनुपर्नेमा उहाँले जोड दिनभयो । 
केही वर्ष ढिलो गरियो भने नेपाल ज्येष्ठ नागरिकको देश बन्ने भएकाले त्यस्तो अवस्थामा देश नै असफल हुन सक्नेतर्फ उहाँले सचेत गराउनुभयो । भ्रष्टाचारमा न्यूनता, दृढ सङ्कल्प, राष्ट्रिय दृढता र आत्मविश्वासका साथ लाग्दा देश बन्न समय नलाग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


अध्यक्ष ओली देश विकासको नायकः महासचिव पोखरेल 
कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री हुँदा अध्यक्ष केपी शर्मा ओलीले विकासको रेखा कोर्ने काम गर्नुभएको र उहाँ राष्ट्र निर्माण र विकासको नायकका रूपमा स्थापित हुनुभएको बताउनुभयो ।  
एउटा नेता नायकका रूपमा कसरी बदलिन्छ भन्ने कुरा केपी ओलीको जीवनीबाट सिक्न सकिने भनाइ उहाँले राख्नुभयो । 
नेपालको लोकतन्त्र कस्ता कस्ता घटनाबाट गुज्रियो भन्ने कुरा पनि केपी ओलीको अभिव्यक्ति र जीवनीबाट बुझिने महासचिव पोखरेलले बताउनुभयो । सर्वसत्तावाद विरुद्धको सङ्घर्षमा खरो रूपमा उत्रिएको कारण केपी ओली नेताहरूको नेता बन्नुभएको उहाँको भनाइ छ ।  
अध्यक्ष ओलीले आफ्नो राजनीतिक जीवनमा कानुनी राज्य, मानवअधिकार, सुशासन र शान्ति सुरक्षाको पक्षमा दिएको अभिव्यक्तिले नेपालको लोकतन्त्रलाई कसरी अघि बढाउने भन्ने बाटो देखाएको महासचिव पोखरेलले बताउनुभयो । सरकारको नीति, कार्यक्रम र बजेट कस्तो हुनुपर्दछ भन्ने कुरा उहाँले संसद्मा स्पष्ट रूपमा राख्ने गर्नुभएको र आफू जिम्मेवारीमा पुग्दा आफ्ना दृष्टिकोण कार्यान्वयनमा अति इमान्दार देखिनुभएको उहाँले स्पष्ट पार्नुभयो ।  
सङ्क्रमणकालीन न्यायको सन्दर्भमा पनि अध्यक्ष ओली आफ्नो अडानमा स्पष्ट रहनुभएको महासचिव पोखरेलले बताउनुभयो । 
लिपुलेक, लिम्पियाधुरा नेपालको हो भनेर संसद्मा सो विषय भित्र्याउने पहिलो नेता केपी ओली नै भएको र आफ्नै प्रधानमन्त्री कालमा सो भूमि समेटिएको नक्सा प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन गराउनुभएको उहाँले स्मरण गराउनुभयो । देशको मिचिएको भूमिको रक्षा तथा परराष्ट्र नीतिमा अध्यक्ष ओली स्पष्ट रहेको महासचिव पोखरेलको भनाइ छ । 
माओवादीलाई हिंसाको राजनीतिबाट रूपान्तरण गरी शान्ति प्रक्रियामा ल्याउने काममा ओलीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उहाँले स्पष्ट पार्नुभयो । तर अहिले पनि माओवादी रूपान्तरण नभएको र त्यो उनीहरूको कमजोरी रहेको भनाइ महासचिव पोखरेलले राख्नुभयो । 
नेपाली समाजलाई विभाजित गर्ने प्रवृत्ति विरुद्धको लडाइँमा पनि केपी ओली खरो रूपमा उत्रिनु भएको उहाँले बताउनुभयो । हिमाल, पहाड, तराई, कोही छैन पराई भन्ने मूल मन्त्रका साथ केपी ओलीले देशलाई जोड्ने काम गर्नुभएको उहाँले  बताउनुभयो ।


ओली समकालीन राजनीतिको अग्लो नेताः राजनीतिक विश्लेषक आचार्य 
राजनीतिक विश्लेषक तथा पूर्व राजदूत नीलाम्बर आचार्यले  अध्यक्ष ओली समकालीन राजनीतिको अग्लो नेता र संसदमा पनि त्यसै अनुरुप अग्लो सांसद रहेको बताउनुभयो । 
उहाँले ग्रन्थमा समाविष्ट ओलीका भाषणमा देश, जनता, राष्ट्रिय हितप्रतिको समर्पण भाव रहेको हुँदा जनताको राजनीति गर्ने र मुलुकको सम्मान गर्नेहरूले यो पुस्तक पढ्नुपर्छ भन्नुभयो । उहाँले अध्यक्ष ओलीको स्वास्थ्य देशकै स्वास्थ्य भएको भन्दै स्वास्थ्यमा ख्याल राख्न सुझाव दिनुभयो ।  


ओलीका विचारहरू राष्ट्र, जनता र राष्ट्रिय अस्मितामा केन्द्रितः दाहाल

कार्यक्रममा बरिष्ठ पत्रकार तथा समालोचक पुरुषोत्तम दाहालले प्रकाशित ग्रन्थ भाषण भन्दा पनि विचारको सङ्ग्रह भएको धारणा राख्नुभयो ।
संसद जीवनमा ओलीले धेरै राम्रो काम गर्नुभएको भन्दै दाहालले ओलीका विचारहरू राष्ट्र, जनता र राष्ट्रिय अस्मितामा केन्द्रित रहेका र तिनमा एमालेको दृष्टिकोण पाइने बताउनुभयो । 
भर्खर मात्र लोकार्पण भएको झापा विद्रोहमा आधारित पुस्तक पढेपछि ओलीप्रतिको आफ्नो बुझाई बदलिएको बताउँदै दाहालले भन्नुभयो– झापा विद्रोहको समयमा ओली मान्छे मार्ने कुरामा पूर्ण असहमत हुनुहुँदो रहेछ । माओ नै हाम्रा अध्यक्ष हुन् भन्ने खालका विचारको पनि विरोधी हुनुहुँदो रहेछ । 
उहाँले भन्नुभयो– संसदीय अभ्यासको शुरुमै ओलीले सांसदको रूपमा संसदमा गर्नुभएका सम्बोधनमा धार्मिक, साँस्कृतिक सद्भाव नेपालको राष्ट्रिय पहिचान हुन् भन्ने दृष्टिकोण राख्नुभएको पाइन्छ भने साम्प्रदायिक विद्वेष नेपाली समाजले सहन सक्दैन भनेर बोल्नुभएको कुरा यस ग्रन्थमा पढ्न पाइन्छ ।


नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा ग्रन्थका सम्पादक सानुमैया खड्का (सविता)ले स्वागत मन्तव्य राख्दै पुस्तकका सामग्री सङ्कलन, सम्पादन, प्रकाशन उद्देश्य र यसका प्रेरणा स्रोत लगायत बारेमा जानकारी गराउनुभएको थियो । ग्रन्थ सम्पादक खड्काले केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेको गोलघरलाई केपी शर्मा ओली राष्ट्रिय सङ्ग्रहालय घोषणा गर्न माग गर्नुभयो । पञ्चायतविरुद्धको सङ्घर्षमा ओलीले गोलघरमा १४ वर्ष जेलजीवन व्यतीत गर्नुभएको थियो । 
उहाँले बिपी कोइरालाले सात वर्ष सुन्दरीजलमा जेलजीवन बिताउनुभएकाले बिपी सङ्ग्रहालय घोषणा हुनसक्छ भने पञ्चायतविरुद्ध जनता र प्रजातन्त्रका लागि १४ वर्ष कठोर जेलजीवन बताएका नेपाली राजनीतिका शीर्ष व्यक्तित्व ओलीको नाममा गोलघरलाई ओली सङ्ग्रहालय बनाउन सकिने तर्क राख्दै जोडदार माग गर्नुभएको थियो । सम्पादक खड्काले संसद्मा ओलीका सम्वोधनमा प्रयुक्त र विम्ब शीर्षकमा विद्यावारिधिका लागि शोध गर्नुभएको छ ।