detail-img

  ‘भारतसँग विद्युत खरीद सम्झौता नेपालका नदीनाला ‘होल्ड’ गर्ने योजना अन्तर्गत’ 

अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीको आयोजनामा पार्टीको केन्द्रीय स्कुल विभागसँगको समन्वयमा मङ्गलबारदेखि सदरमुकाम  सन्धिखर्कमा पार्टीको तीनदिने प्रशिक्षण शुरू भएको छ ।
पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षणको उद्घाटन गर्नुभयो । सो अवसरमा मन्तव्य राख्नुहुँदै उपमहासचिव ज्ञवालीले वर्तमान गठबन्धन सरकारका कारण देशका आर्थिक लगायत हरेक सूचकाङ्कहरू नकारात्मक रहेको र देश जोखिमपूर्ण अवस्थामा पुगेको बताउनुभयो । 
भारतले नेपालको दश हजार मेगावाट विद्युत खरिद गर्ने हालै भएको सम्झौता नेपालका नदीनाला ‘होल्ड’ गर्ने योजना अन्तर्गत रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान गठबन्धन सरकारले देशको राष्ट्रियता कमजोर बनाउने काम गरेको बताउनुभयो ।


उहाँले गठबन्धन सरकारले सत्ता टिकाउने योजना अन्तर्गत देशको परराष्ट्र नीतिलाई बेवास्ता गर्दै शक्ति राष्ट्रसँग अनावश्यक हिमचिम बढाएको बताउनुभयो । 
प्रशिक्षणका सन्दर्भमा बोल्दै उपमहासचिव ज्ञवालीले पार्टीपङ्तीमा अध्ययन गर्ने संस्कृतिको विकास गर्नु आवश्यक देखिएको र पार्टीका नीति, विचार र सिद्धान्तका बारेमा कार्यकर्ता अद्यावधिक भइरहनु आवश्यक हुने हुँदा पार्टीले योजनाबद्ध ढङ्गले देशभर प्रशिक्षण सञ्चालन गरिरहेको स्पष्ट गर्नुभयो ।  
उहाँले भन्नुभयो– नेताकार्यकर्ताको वैचारिक स्तर हेरेर मात्र स्कुलिङ्ग गछौँ, आधारभूत, माध्यमिक, उच्च र विशिष्ट तह गरी चार तहका प्रशिक्षणहरू सञ्चालन गर्छौं ।
उपमहासचिव ज्ञवालीले प्रशिक्षणलाई कमिटीमा जिम्मेवारी प्राप्त गर्ने एउटा योग्यताका रूपमा राखिने योजना रहेकाले पार्टी कार्यकर्ताले स्कुलमा भाग लिनु अनिवार्य रहेको जानकारी गराउनुभयो ।  
उहाँले कुनै पनि पार्टीको विचार र सिद्धान्त प्रधान हुने बताउँदै  पार्टी कहिले स्थापना भएको भन्ने कुराले नयाँ र पुराना हुँदैनन् भन्नुभयो । 
पार्टीमा पठन संस्कृति हराउँदै गएकाले त्यसमा परिवर्तन ल्याउन सातै प्रदेश र ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरू सक्रिय बनाइने उहाँले बताउनुभयो । उपमहासचिव ज्ञवालीले विश्व विज्ञान प्रविधिले फड्को मारिरहेको अवस्थामा पार्टीलाई सोहीअनुसार अघि बढाइनुपर्ने कुरामा जोड दिनुभयो । 
प्रशिक्षण उद्घाटन सत्र नेकपा (एमाले) जिल्ला कमिटी, अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षता र सचिव तोजबहादुर रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो । 
प्रशिक्षणको पहिलो दिन मङ्गलबार उपमहासचिव ज्ञवाली र केन्द्रीय स्कुल विभाग सदस्य वाईपी आचार्यले प्रशिक्षण दिनुभएको थियो भने आज र भोलि गरी पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटव्यूरो सदस्यहरू इश्वरी रिजाल, ठाकुर गैरे र सूर्य थापा, केन्द्रीय सदस्यहरू  चेतनारायण आचार्य र बोमबहादुर विक तथा केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइराला लगायतले प्रशिक्षण दिनुहुने छ । प्रशिक्षणमा १५० जनाको  सहभागिता रहेको छ ।