detail-img

अहिलेको गठबन्धन देश बनाउन नभई देश विकासको गति रोक्न बनेको होः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था निक्कै कमजोर बनेको बताउनुभएको छ । 
बुधबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको कारण देश बर्बादीतर्फ उन्मुख भएको बताउनुभयो । 
उहाँले विदेशमा गएका युवाले पठाएको रेमिट्यान्सले अहिले देश चलिरहेको र यदि त्यो बन्द हुने हो भने देश बर्बाद हुने प्रष्ट पार्नुभयो । यस विषयमा गठबन्धनलाई बारम्बार सम्झाएको भए पनि यो सरकार त्यसमा जिम्मेवार नभएको भनाइ अध्यक्ष ओलीले राख्नुभयो ।


गठबन्धन सरकार देश बनाउन नभई विकासको गति रोक्न बनेको बताउँदै उहाँले भन्नुभयो– अहिले जुन गठबन्धन सरकार छ त्यो गठबन्धन देश बनाउन र विकास गर्नका लागि बनेकै होइन, त्यो देश भत्काउन बनेको हो । 
एमालेले पुल, राजमार्ग, अस्पताल, विद्यालय लगायत अनेक पूर्वाधार निर्माणको काम गरिरहेको बेला त्यसलाई रोक्न गठबन्धन सरकार बनेको र गठबन्धन सरकार बन्ने बित्तिकै विकासका सबै योजना काटिएको अध्यक्ष ओलीले बताउनुभयो ।  
सूर्यमा समेत कहिले काहीँ ग्रहण लाग्ने बताउँदै अध्यक्ष ओलीले अहिले नेपालमाथि गठबन्धन नामको ग्रहण लागेको बताउनुभयो । देश बनाउने पार्टी एमालेलाई छेक्न अहिले आठ÷दशवटा दलको गठबन्धन मिलेर ग्रहणको काम गरिरहेको उहाँको भनाइ छ । 
उहाँले ग्रहण धेरै समय लाग्न नसक्ने बताउँदै एमालेले देशलाई  त्यो ग्रहणबाट बाहिर निकालेर विकासको काममा लाग्ने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– यस देशमा नेकपा (एमाले) छ,  त्यस कारण देश दुर्घटनामा जान पाउँदैन ।
विश्व उपनिवेशसँग लडेका देशभक्त नागरिक रहेको नेपालको भविष्य तल माथि हुन नसक्ने बताउँदै उहाँले नेपाली जनताको भावना सम्बोधन गर्ने देशभक्त पार्टी एमाले जनताको साथमा रहेको छ भन्नुभयो । 
अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गर्नुभयो । 
अहिले गठबन्धनले क्षमता हेरेर होइन गठबन्धनको मानिस हो कि होइन भनेर जिम्मेवारी दिने गरेको कारण देश उँधो गतिमा गएको बताउँदै योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन सुझाव दिनुभयो । 
देशको रक्षा र विकासको लागि नै नेकपा (एमाले) बनेको  बताउँदै उहाँले देशको चौतर्फी विकासका लागि २०८४ को निर्वाचनमा एमालेले अधिकतम बहुमत स्थानमा जित्ने गरी तयारी गरिरहेको स्पष्ट गर्नुुभयो । 
मुख्य रूपमा कृषिलाई आधुनिकीकरण गरेर समृद्ध नेपाल बनाउन सकिने उल्लेख गर्दै अध्यक्ष ओलीले कृषि र पशुपालन तथा त्यसको आधुनिकीकरणबाट नै आर्थिक विकास गर्न सकिने बताउनुभयो । धेरै देशले कृषिमा आधुनिकीकरण गरेर कृषि अर्थतन्त्र मजबुत बनाएको उहाँले बताउनुभयो ।  
उत्पादनलाई विविधीकरण गरी विश्व बजारमा बिक्ने वस्तु उत्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले वर्तमान गठबन्धन सरकारले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले शुरू गरेका विकासका काम ठप्प पारेको बताउनुभयो । उहाँले काठमाडौंमा  पानी लैजाने हो भने यहाँ सडक कालोपत्रे लगायत विकासका काम हुनुपर्ने बताउनुभयो । कार्यक्रम गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा भएको थियो ।