detail-img

प्युठानमा जिल्लास्तरीय प्रशिक्षण सम्पन्न

काठमाडौं । नेकपा (एमाले)को प्युठानमा सञ्चालित तीन दिवसीय जिल्लास्तरीय प्रशिक्षण सम्पन्न भएको छ ।
प्रशिक्षणको उद्घाटन माघ १५ गते पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गर्नुभएको थियो भने माघ १७ गते बुधबार पोलिटव्युरो सदस्य सूर्य थापाले सहभागीहरूलाई प्रमाणपत्र वितरणसहित समापन गर्नुभयो । 
उपमहासचिव तथा पार्टीको केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले जबजको मार्गदर्शन र महाधिवेशनका कार्यदिशा/कार्यभार विषयमा प्रशिक्षण दिनुभएको थियो भने पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन विषयमा प्रशिक्षण दिनुभएको थियो । 
त्यसैगरी पोलिटव्यूरो सदस्य तथा प्यूठानबाट निर्वाचित प्रतिनिधि  सभा सदस्य सूर्य थापाले प्युठान जिल्लामा कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान र भविष्य तथा प्युठानको समग्र विकासमा पार्टीको भूमिका र भावी योजना गरी दुई विषयमा प्रशिक्षण दिनुभएको थियो ।


यस्तै, पोलिटव्यूरो सदस्य इश्वरी रिजालले माक्र्सवादी दर्शनशास्त्र, नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष  राधाकृष्ण कँडेलले लुम्बिनी प्रदेशमा पार्टी कामको अवस्था, केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले नेपालको संक्षिप्त इतिहास र नेपाली समाजको चरित्र तथा विशेषता, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सीप, शैली र कला, केन्द्रीय स्कुल विभाग सदस्यहरू बद्री खनालले  राजनीतिक अर्थशास्त्र र वर्तमान अवस्था, रामशरण प्याकुरेलले संगठन निर्माण, व्यवस्थापन र परिचालन, वाईपी आचार्यले सूचना प्रविधिको विकास, ज्ञान र उपयोग विषयमा प्रशिक्षण दिनुभएको थियो ।  
जिल्लास्तरीय  प्र्रशिक्षणपछि अब मातहतका कमिटीहरूमा प्रशिक्षणका कार्यक्रमलाई अभियानको रुपमा लैजाने नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानका अध्यक्ष विजयविराज विष्टले बताउनुभयो । प्रशिक्षणले पार्टी सदस्यहरूमा नयाँ ऊर्जा दिनुका साथै पछिल्ला समसामयिक विषय तथा प्रविधिका बारेमा समेत ज्ञान मिलेको उहाँले बताउनुभयो । प्रशिक्षणमा जिल्ला कमिटी, जनवर्गीय संगठनका नेता कार्यकर्ता को सहभागिता थियो ।