detail-img

मानव जातिको स्वास्थ्य सर्वाधिक महत्वको विषयः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव जातिको स्वास्थ्य सर्वाधिक महत्वको विषय भएकाले मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने कुराहरूमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने वताउनुभएको छ । 
जलवायु परिवर्तनले वातावरणमा पारेको असर र समाधानका उपायका बारेमा पार्टीको केन्द्रीय बन तथा वातावरण विभागद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो । 
मानिस नभए यस ब्रमाण्डको अर्थ नरहेको, यस धर्तीको औचित्य नरहने भन्नुहुँदै अध्यक्ष ओलीले मानवीय स्वार्थ र असावधानीले मानव स्वास्थ्यमै प्रतिकूल असर पार्ने गरी वातावरणमा असर परिरहेको बताउनुभयो  ।


अध्यक्ष ओलीले जलवायु परिवर्तनको स्वाभाविक कारणलाई रोक्न नसकिने हुँदा त्यस्ता प्राकृतिक अवस्थामा मान्छेले अनुकूलित हुन सिक्नु अनिवार्य रहेको तर विकास र औद्योगिकीकरणबाट अत्यन्त कार्वन उत्सर्जनका कारण मानव स्वास्थ्यमा पारेको असरलाई न्यूनीकरण गरी समस्या समाधानका बारेमा ध्यान दिनुपर्ने बताउनुभयो  । । 
अध्यक्ष ओलीले काठमाडौं उपत्यकामा इँटा उद्योगबाट भइरहेको कार्वन उत्सर्जनले मानव स्वास्थ्यमा पारेको असरका बारेमा अध्ययन जरुरी रहेको वताउँदै उपत्यकामा कार्वन उत्सर्जन नहुने प्रविधिका उद्योगहरू स्थापनामा सरकारले प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्छ भन्नुभयो । अध्यक्ष ओलीले जलवायु परिवर्तनका कारण सिर्जना भइरहेका स्वास्थ्य समस्यालाई लिएर मानिस चिन्तित भइरहेको वताउँदै नेपालमा बनको क्षेत्रफल अनुसार जङ्गल नरहेकाले सघन बन क्षेत्र बढाउनुपर्नेमा जोड दिनुभयोे । 
पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा भएको अन्तर्क्रियामा जलवायु परिवर्तनका कारण जनस्वास्थ्यमा परेको असर लगायत विभिन्न विषयविज्ञहरूले आ–आफ्ना भनाइ राख्नुभएको थियो । अन्तर्क्रियामा कार्वन उत्सर्जनरहित उद्योगका बारेमा पनि छलफल भएको थियो ।