detail-img

सामाजिक परिवर्तनका लागि युवाशक्ति भन्ने भावना जागृत गराउन काठमाडौंमा युवा महोत्सव

काठमाडौं । ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउने लक्ष्यका साथ नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले यही माघ २० गते काठमाडौँको टुँडिखेलमा ‘युवा महोत्सव, २०८०’ को आयोजना गर्ने भएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवा शक्तिलाई समाज रुपान्तरणका दिशामा अभिप्रेरित गराउन यस प्रकारका महोत्सव काठमाडौँपछि देशव्यापीरूपमा आयोजना गर्ने सो कमिटीले जनाएको छ । 
उक्त महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा हरेक क्षेत्रमा युवा पुस्ताको अनिवार्य सहभागितालाई अभियानकै रूपमा अगाडि बढाइने जानकारी दिइयो । 
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं काठमाडौँका इञ्चार्ज आनन्द पोखरेलले विश्वव्यापीकरणको वर्तमान स्थितिमा प्रविधिको प्रयोग र दुरुपयोगजस्ता विषयमा पनि युवालाई सजग गराइने बताउनुभयो ।
नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले मुलुकको विद्यमान जटिल अवस्थालाई चिर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सृदृढीकरण गर्न तथा राष्ट्रियता, एकता र स्वाधीनताको रक्षार्थ युवाहरूका बीच पार्टीलाई निरन्तर परिचालन गरिने जनाउनुभयो । युवा महोत्सवमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुती र छलफल हुने छ ।