detail-img

मधेशको विकासका लागि एमालेको सरकार चाहिन्छ भन्ने पुष्टि भइसकेको छः महासचिव पोखरेल 

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेशको भाग्य निर्माण गर्ने पार्टी एमाले भएको बताउनुभएको छ । 
नेकपा (एमाले) रौतहटको प्रथम प्रतिनिधि परिषद् बैठकलाई बिहीबार गौरमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले मधेश निर्माणको योजना अघि सारेको बताउनुभयो । 
आफूलाई मधेशका मसिया हौँ भनेर गफ दिनेहरूले मधेशका जनताको हितमा काम नगरेको र उनीहरूले मधेशका जनतालाई झुक्क्याउने र ठग्ने काम मात्र गरेकोे उहाँको भनाइ छ । 
तराईमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउन सुनकोसी–मरिण डाइभर्सन आयोजना नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेको समयमा सुरु गर्नुभएको उहाँले स्मरण गराउनुभयो । त्यस्तै पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग विस्तार र स्तरोन्नतिको काम पनि नेकपा (एमाले) नेतृत्वको सरकारले नै गरेको महासचिव पोखरेलले बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो– एमाले नभएको भए कसैले सुनकोसी– मरिण डाइभर्सनको योजना बनाउन सक्थ्यो ?


जसले जनताको भाग्य निर्माण गर्न सक्छ त्यो नै मधेशको मसिया हुने उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले देश विकासका लागि केपी शर्मा ओली नै चाहिन्छ भन्ने कुरा पुष्टि भइसकेको बताउनुभयो । एमाले र केपी ओली सरकारको नेतृत्वमा नहुँदा देश विकासको काम ठप्प भएको उहाँको भनाइ छ । 
महासचिव पोखरेलले माधव नेपालले कैयौँ पटक जिते पनि रौतहट र मधेशको विकासमा ध्यान नदिइएको बताउनुभयो । ‘माधव नेपाललाई हामीले पार्टीको प्रमुख बनायौँ, पटक पटक सरकारमा पठायौँ, उपप्रधानमन्त्री, प्रधानमन्त्री, पार्टी सरकारमा जाँदा हर्ताकर्ता भए पनि रौतहटको अवस्था बदलिएन,  रौतहटको, मधेशको अवस्था बदल्नका लागि यो पार्टीमा केपी ओलीको नेतृत्व चाहिने रहेछ भन्ने तपाईँहरूले अनुभूत गर्नुभएको छ, केपी ओली सरकारमा आएपछि मधेश बदलियो’, महासचिव पोखरेलले भन्नुभयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अडानकै कारण भारतले लगाएको नाकाबन्दी अन्त्य भएको स्मरण गराउँदै त्यस बेला अरू कोही भएको भए नाकाबन्दी विरुद्ध खडा हुनै नसक्ने उहाँले बताउनुभयो ।कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्यहरू पुरुषोत्तम पौडेल, ज्वालाकुमारी साह र केन्द्रीय सदस्यहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो ।