detail-img

बैंकको व्याज दुई पक्षको सहमतिमा फेरबदल हुनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमति बिना बैंकको व्याजको दर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । 
बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी सङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई च्यासल, ललितपुरमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एकतर्फी रूपमा व्याजको दर बढाउने गरेको भन्दै दुईपक्षीय सहमति विना व्याजको दर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताउनुभयो । 
‘बैंकबाट ९ प्रतिशतमा लिएको ऋण केही समयमै १०, १२ हुँदै १४ प्रतिशतसम्म पुग्ने गरेको छ’ उहाँले भन्नुभयो–पछि ऋण यति लिएको थियो भनेर तिर्न जाँदा त बैंकका हिसावले खल्तीमा बोकेको पैसा त के झोला बोके पनि नपुग्ने गरी हिसाव बैंकले बनाइरहेको हुन्छ ।
उहाँले ऋण लिने र ऋण दिने दुवैको सहमतिबाट ब्याजको दर फेरबदल गर्नुपर्ने धारणा राख्नुभयो ।

 
अध्यक्ष ओलीले धितो र ऋण असुल गर्नुमात्र बैंकको काम नभएको समेत बताउनुभयो । बैंकले लगानी गरेपछि सदुपयोग भएको छ कि छैन भनेर पनि अनुगमन गर्नुपर्ने उहाँको भनाइ रहेको छ । 
उहाँले भन्नुभयो– बैंकले सस्तो व्याजमा पैसा पाएको हुन्छ । राष्ट्र बैंकबाट अन्यबाट लिंदा र हामीले राख्दा पनि बैंकले सस्तै व्याजमा पैसा लिन्छ । 
अध्यक्ष ओलीले निक्षेपकर्ता र ऋण लिने नै बैङ्कका जीवन हुन भनेर बैङ्कले बुझ्नुपर्ने बताउनुभयो । 
बैङ्क नाफाखोर निर्मम साहु नभई विकासको सहयोगी बन्नुपर्ने भन्दै उहाँले जसले सानो पुँजीबाट केही शुरुवात गरौं भन्नेलाई बैंकले ऋण दिनुपर्ने भनाइ राख्नुभयो । 
अध्यक्ष ओलीले बैङ्कहरू पनि मिटरव्याजी भइरहेको बताउनुभयो । 
उहाँले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट, काम नलाग्ने भएको र सरकारले देशमा बेथिति निम्त्याएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– यो सरकार कानुन अनुसार चल्ने, कानुनी मूल्य मान्यता अनुसार चल्ने सरकार होइन, गैरकानुनी र बेथितिसँग चल्ने सरकार हो, यसका दृष्टान्त जति दिए पनि कम हुन्छन् । 
उहाँले अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब  भएको बताउनुभयो । 
स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत 
सोही कार्यक्रममा अध्यक्ष ओलीले सरकारले स्काउटमाथि राजनीति गरेकामा आपत्ति जनाउनुभयो । 
उहाँले अदालतको आदेश विपरीत नेपाल स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्रीले दिएको आदेश स्वतन्त्र सामाजिक संस्था माथिको ठाडो हस्तक्षेप भएको बताउनुभयो । 
स्काउटमा गठबन्धनले हार्छ भनेरै प्रधानमन्त्रीले अधिवेशन स्थगित गराएको अध्यक्ष ओलीले बताउनुभयो । 
स्काउटको संरक्षकको नाताले उहाँले निर्देशन दिन सक्ने भए पनि सो निर्देशन भताभुङ्ग पार्ने नभई सकारात्मक काम गर्नको लागि भएको उहाँले स्पष्ट पार्नुभयो । 
अधिवेशनका लागि स्काउटका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई समेत बोलाइसकेको अवस्थामा अधिवेशन रोक्नु देशकै लज्जाको विषय भएको अध्यक्ष ओलीले बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– सरकारले स्काउट मात्रै नभएर रेडक्रस पनि चलाउन दिएन । एनआरएनएमा समेत हस्तक्षेप भयो । अधिवेशन उद्घाटन समारोहमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा, नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली लगायत पेशागत क्षेत्रका नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।