detail-img

अध्यक्ष ओलीद्वारा झापामा सौर्य विद्युत परियोजना उद्घाटन

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाको सताक्षीधाम नगरपालिकामा कोशी प्रदेशकै ठूलो सौर्य बिद्युत परियोजनाको उदघाटन गर्नुभएको छ ।  
नेकपा (एमाले)को तर्फबाट झापा निर्वाचन क्षेत्र नं.– ४ बाट निर्वाचित सांसद एलपी साँवाको अगुवाइमा सञ्चालित परियोजनाको अध्यक्ष ओलीले आज उदघाटन गर्नुभएको हो । झापा र कोशी प्रदेशसँगै देशको विकासका लागि सो परियोजना अत्यन्तै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । 
यो परियोजना कोशीको सबैभन्दा ठूलो र देशका ठूला सौर्य परियोजनाहरु मध्येको एक परियोजना भएको र उद्यमशीलताको प्रवर्द्धन र देशको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास अध्यक्ष ओलीले व्यक्त गर्नुभयो ।


उहाँले युवाहरू उद्यमशील हुनुपर्ने र जागीरे भन्दा पनि उद्यमशील प्रवृत्ति अपनाउनुपर्ने बताउनुभयो । सहकारी वा सहकार्य गरेर ठूला आयोजना सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । ४० प्रतिशत युवा जनसङ्ख्या मध्ये झण्डै आधा बिदेशिएका जनाउँदै अध्यक्ष ओलीले बिदेशीन चाहने युवाहरूलाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याएर उद्यमशील बनाउनुपर्नेमा जोड दिनुभयो ।
निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको  यो सौर्य विद्युत परियोजनाको कुल लागत ८५ करोड रुपैंया रहेको छ । २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर परियोजना निर्माण गरिएको परियोजनाका अध्यक्ष साँबाले बताउनुभयो । 
‘बैकल्पिक उर्जाको क्षेत्रमा झापा इनर्जीले सुरु गरेको सोलार पावर प्रोजेक्ट उदाहरणीय र नमुना हुने साबाँको विश्वास छ । आयोजना स्थलबाट बुलुचोकस्थित सबस्टेशनसम्म ९६६ मिटर प्रशारण लाइन निर्माण गरिएको छ । सञ्चालक साँवाका अनुसार परियोजनाबाट वार्षिक एककरोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्रि गर्न सकिन्छ । परियोजनाको खरिद विक्री सम्झौता २५ वर्ष हुने छ । अध्यक्ष ओलीले आजै नेकपा (एमाले) झापाको पूर्ण बैठकलाई सम्बोधन गर्नुभयो । 
बुढाथोकीप्रति श्रद्धाञ्जली
यसैबिच अध्यक्ष ओलीले झापास्थित गिरिजा कोइराला स्मृति भवन पुगेर कांग्रेस नेता केशब कुमार बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । झापाको अर्जुनधारा निवासी बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गएराति निधन भएको थियो ।