detail-img

वर्तमान गठबन्धन सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को शत्रुः उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को महान लक्ष्य पूरा हुन नदिने प्रमुख शत्रु वर्तमान गठबन्धन सरकार रहेको बताउनुभएको छ । 
कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सत्ता र कुर्सीका लागि जे पनि सम्झौता गर्ने प्रचण्ड नेतृत्वको सरकारकै असफलताका कारण देशका हरेक क्षेत्रमा निराशा बढ्दै गएको बताउनुभयो । 
उहाँले भन्नुभयो– चालु आर्थिक वर्षको सुरु महिना साउनदेखि नै आन्तरिक ऋण लिएर कर्मचारीलाई तलब ख्वाउन थालेको सरकारले अहिलेसम्म एक खर्ब ४७ अर्ब रुपियाँ आन्तरिक ऋण निकालिसकेको छ । आर्थिक, कूटनीतिक, सुशासन कायम गर्ने, नागरिकमा आशा जगाउने, रोजगारी सिर्जना गर्नेदेखि बहुआयामिक क्षेत्रमा गठबन्धन सरकार असफल बन्दै गएको छ । 
अहिलेको सरकारबाट कर्णालीमा ‘विकास किन्ने’ र ‘विकास खाने’ दुईटा शब्द थप्ने बाहेक अरु केही उपलब्धि हासिल नभएको बताउँदै उपमहासचिव ज्ञवाली भन्नुभयो– यो विकास किन्ने र  विकास खानेलाई कसरी हटाउने हो ? कर्णालीको समग्र विकासको बाधकका रूपमा रहेको भ्रष्टाचारको दलदलबाट कसरी निकाल्ने ? प्राकृतिक सम्पदाको खानीका रूपमा रहेको कर्णालीलाई समृद्ध बनाउन के गर्ने ? भन्ने बहस गर्नुपर्ने बेला भएको छ । 
उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कर्णालीको हिल्सालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने, कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने काम भएको स्मरण गराउनुुभयो । 
उपमहासचिव ज्ञवालीले भन्नुभयो– जलस्रोतको अपार जलभण्डारको रूपमा रहेको कर्णालीको अपर कर्णालीको जिम्मा लिएको भारतको जिएमआरले गएको १५ वर्ष आयोजना होल्ड गरेर राखेकै समयमा कुनै काम नहँुदै, प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका बेला सत्ता लम्ब्याउन फुकोट कर्णालीको जिम्मा समेत लगाउनुभएको छ । कर्णालीलाई कसरी माथि उठाउने हो भन्ने एजेण्डा यो सरकारको प्राथमिकतामा छैन  । त्यसैले पनि कर्णालीको समग्र विकासका लागि एमालेको विकल्प छैन । 
राष्ट्रवादीहरूलाई कमजोर बनाएर आत्मसमर्पणवादीहरू र कम्फर्टेबलहरूलाई सत्तामा ल्याउनु, सु–शासनका संवाहकहरूलाई किनारा लगाएर भ्रष्टका प्रायबाचीलाई सत्तामा राख्ने, विकास र समृद्धिका सपना देख्नेहरूलाई मार्जिनलाइज गरेर विकास  किन्ने र विकास खानेलाई केन्द्रमा स्थापित गर्ने जुन ढङ्गले मुलुकको राजनीतिक अगाडी बढिरहेको छ, यसलाई मेडिकल ट्रममा भन्ने हो भने देश मल्टिअर्गान फेलिएर अवस्थाबाट गुज्रिरहेको छ   
पार्टी स्कुल विभागका प्रमुख समेत रहनुभएका उपमहासचिव ज्ञवालीले पार्टीको समग्र संरचनाभित्र  सम्पर्क मञ्च र सम्पर्क कमिटीहरू पार्टीको रिजर्भ फोर्सका रूपमा रहेको बताउनुभयो । 
उपमहासचिव ज्ञवालीले भन्नुभयो– पार्टीले आह्वान गरेका अभियानहरू चाहे आन्दोलनका मोर्चामा, निर्वाचनको समयमा र प्राकृतिक विपत्तिमा जनपरिचालन गर्ने सन्दर्भमा सम्पर्क कमिटीहरूको भूमिका निकै उल्लेखनीय रहेको छ ।
कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्यद्वय मोहन बानियाँ, भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य निरज आचार्य, छक्कबहादुर लामा, नगेन्द्र शाही (नेशनल), दल रावल, कल्पना थापा लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो । 
अधिवेशनमा कर्णाली प्रदेशका दशवटै जिल्लाबाट अध्ययन, व्यापार, व्यवसाय र अन्य कामका सिलसिलामा काठमाडौं वसोवास गर्ने ६०८ जना संगठित सदस्यहरूको तर्फबाट छनोट भएका २१३ जना प्रतिनिधिहरूले आगामी कार्यकालका लागि नयाँ नेतृत्व छनोट गर्नेछन् ।