detail-img

समाजमा आशाको दीयो बाल्नैपर्छः महासचिव पोखरेल 

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले सबै दल एकै हुन्, सबै नेता उस्तै हुन् भन्ने भाष्य खडा गरिएको बताउनुभएको छ । 
मानव अधिकार एलाइन्सको दशौँ राष्ट्रिय परिषद् बैठकलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै  महासचिव पोखरेलले  नेपाली समाजमा अहिले निराशाको खेती भइरहेको बताउनुभयो ।  
महासचिव पोखरेलले भन्नुभयो– जो सबैभन्दा अराजक छ, त्यही विकल्प हो भन्ने मनोविज्ञान खडा गर्ने काम नेपाली समाजमा भइरहेको छ । 
समाजमा सामाजिक अराजकता फैलाएर, निराशाको खेती गरेर मानव अधिकार र लोकतन्त्र संस्थागत हुन नसक्ने प्रष्ट पार्दै सामाजिक अराजकता र निराशाको खेती लोकतन्त्र र मानव अधिकार माथिको हमला भएको उहाँले बताउनुभयो । 
जनतामा रहेको विद्रोही मानसिकतालाई अब राज्यका पक्षमा परिणत गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । राज्य र नागरिकलाई जोडेर अघि बढ्नुपर्ने उहाँको धारणा छ । 
महासचिव पोखरेलले जस्तोसुकै कठिन बेलामा पनि समाजमा आशाको दियो बाल्नुपर्ने बताउँदै त्यसो गर्न सकियो भने मात्र समाज प्रतिकूलताबाट बाहिर निस्कने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– आशाको दियो नबाल्ने हो भने त्यो समाजको पतन अनिवार्य छ, जस्तोसुकै कठिन बेला पनि समाजमा आशाको दियो बाल्नै पर्दछ । 
नेपाली समाजमा विचारको खेती गर्नेहरूले पनि गहिराइमा जाने भन्दा पनि सतही कुरा गरेर समाजमा निराशा मात्र बाँड्ने काम गरेको उहाँको विष्लेषण छ । आफूलाई बुद्धिजीवी भन्नेहरूले समेत बलिरहेको आशाको दियो निभाउने काम गरेको महासचिव पोखरेलले बताउनुभयो । 
विश्वका सबै समाज प्रतिकूल अवस्थाबाट नै विकास भएर आएको बताउँदै महासचिव पोखरेलले कुनै पनि समाज सधैँभरि राम्रै राम्रो भएर अघि नबढेका प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो– जतिसुकै चुनौती भए पनि, सङ्कट भए पनि समाज र भविष्यका लागि जसले बुझेको छ त्यसले आशाको दीयो बाल्नुपर्छ । निराशाको खेती होइन, आशाको दीयो बाल्नुपर्छ, मानव अधिकारकर्मी पनि निराशा होइन, आशा जगाउने अभियन्ता हो, आशा जगाउने काममा लाग्नुपर्छ ।   
देशका सामु धेरै समस्या भए पनि ती समस्या समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । 
राजनीतिक परिवर्तनलाई सर्वाेपरि ठान्ने सोचले देशको आर्थिक, सामाजिक परिवर्तनले गति लिन नसकेको बताउँदै महासचिव पोखरेलले राजनीतिक परिवर्तन देश र समाज परिवर्तनको आधार मात्र भएको प्रष्ट पार्नुभयो । 
नेपालमा आजको राजनीतिक अस्थिरताको बीउ शान्ति सम्झौताको बेला नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रोपिदिएको उहाँले बताउनुभयो । कोइरालाले चुनाव नै नलडेको माओवादीलाई संसद्मा एमाले सरह भाग दिएर अस्थिरताको बीउ रोप्ने काम गरेको उहाँको भनाइ छ । कम्युनिष्टलाई लडाएर मात्रै कांग्रेसको भविष्य सुनिश्चित हुनसक्छ भन्ने योजनाका साथ कोइरालाले उक्त  काम गरेको उहाँले बताउनुभयो । 
नेपालमा राजनीतिक स्थायित्वको आधार बन्नै नसकेको र राजनीतिक स्थायित्व नभएसम्म देश विकास नहुने उहाँले प्रष्ट पार्नुभयो । 
नेपालको धर्म, संस्कार र संस्कृति माथि प्रहार भइरहेकोप्रति सचेत गराउँदै महासचिव पोखरेलले धर्म, संस्कार र संस्कृति माथि प्रहार हुँदा देश कमजोर बन्ने उहाँले बताउनुभयो । 
सरकारले तस्करलाई संरक्षण गर्दा देशमा आर्थिक सङ्कट उत्पन्न भएको उहाँको भनाइ छ । सरकार योजनाबद्ध रूपले अघि नबढेको कारण आर्थिक सङ्कटको समाधान राज्यले गर्न नसकेको महासचिव पोखरेलले बताउनुभयो ।