detail-img

‘सत्य, तथ्य विचार जनतामा लैजानु जरुरी’

रुपन्देही । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य विचार जनतमाझ लैजान जरुरी रहेको र त्यो काम प्रेस जगतको प्रमुख जिम्मेवारीभित्र पर्ने बताउनुभएको छ । 
शनिबार प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उहाँले श्रमजीवीका मुद्दा उठाउने, उनीहरूलाई संगठित गर्ने तथा पेशागत दक्षता बृद्धि गरी योग्य बनाउन प्रेस चौतारीले भूमिका खेल्नुपर्ने बताउनुभयो । 
नेपाल पत्रकार महासंघमा गठबन्धनका कारण जित्नेले हार्ने र हार्नुपर्नेले जित्ने गलत परिपाटीको सुरुवात भएको उहाँको भनाइ छ । पोलिटव्यूरो सदस्य थापाले भन्नुभयो– दृष्टिकोण बनाउँदा संगठनलाई केन्द्रमा राख्नुपर्छ, संगठनलाई सही नीति, एजेन्डाले सबैभन्दा बढी सक्रिय बनाउँछ । यसमा प्रेस चौतारीले भूमिका बढाउनुपर्छ ।
वि.सं. २००८ सालमा सत्यनारायण बहादुर श्रेष्ठले स्थापना गरेको पत्रकार महासंघ हालको नेपाल पत्रकार महासंघ नै भएको र त्यो इतिहास मेटाउन नपाइने उहाँले बताउनुभयो । सांसद थापाले भन्नुभयो– म त्यो इतिहास मेटाउने खेलको विपक्षमा छु, पत्रकार महासंघको इतिहास तोडमोड गर्न पाइँदैन । यसमा म स्पष्ट छु । 
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा सम्पन्न सभामा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्ड, सविन प्रियासन, महासचिव हिरामान लामा,नेकपा (एमाले) लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य, नेकपा (एमाले) लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, नेकपा (एमाले) दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत लगायत वक्ताहरूले परिवर्तनलाई संस्थागत गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले जनसरोकारको सवालमा प्रतिबद्ध भएर भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सभामा महासचिव निरु गौतमले प्रगति, कोषाध्यक्ष ओपेन्द्र बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
साधारणसभाले नेपाल पत्रकार महासंघले एकतर्फीरूपमा गरेको सदस्यता शुद्धीकरणलाई पुनःविचार गर्न माग गर्दै सातबुँदे घोषणा पत्र जारी गरेको छ ।