detail-img

‘विचार नमिल्नेहरू बीचको गठबन्धन अवसरवादको चरम नमूना’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक अराजकता सधै सुशासन, विकास र समृद्धिको विपक्षमा हुने बताउनुभएको छ । 
नेकपा (एमाले) पेशागत विशेष जिल्ला कमिटीको नवौं अधिवेशनको बन्दसत्रलाई आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले मुलुकमा देखापरेको सामाजिक अराजकतामा परिवर्तन नल्याई देश नबन्ने बताउनुभयो । 
महासचिव पोखरेलले मुलुकमा सामाजिक अराजकता र अवसरवाद चुनौतीका रूपमा देखापरिरहेको र समाज विगार्नेहरू नै प्रिय लाग्ने प्रवृत्ति मौलाएको भन्दै देश बनाउनका लागि यस्तो प्रवृत्ति विरूद्ध विजय हासिल गर्नैपर्छ भन्नुभयो । 
उहाँले भन्नुभयो–अहिले कसैमाथि भरोसा नगर्ने, सबैमाथि सन्देह पैदा गर्ने काम भइरहेको छ । यस्तो भइरहेसम्म देश बन्दैन । 
महासचिव पोखरेलले विचार नमिल्नेहरू बीचको गठबन्धन अवसरवादको चरम नमूना भएको र जनताले रूचाएको शक्ति राज्यसत्तामा नरहनु लोकतन्त्रमा सबैभन्दा घातक चिज हो भन्नुभयो । 
महासचिव पोखरेलले पन्ध बर्ष आफैले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको सरकार ढालेर, पार्टी विभाजन गरी कांग्रेस नेतृत्वमा सरकार बनाउने तहसम्म पुग्नु आफूलाई कम्युनिष्ट भन्ने नेताहरूमा देखिएको चरम अवसरवाद र विचलन हो भन्नुभयो । 
माक्र्सवादी क्रान्तिकारी भनिएकाहरूको यो विचलन चानचुने नभएको उहाँको भनाइ छ । हामीले जित्न नसके पनि एमालेलाई हराएर अहिलेको गठबन्धनलाई गुन लगाएका छौँ भनेर माधव नेपाल भाषण गर्दै हिडिरहेको र अहिले गठबन्धनमा त्यसैको अंश मागिरहेको महासचिव पोखरेलले बताउनुभयो । 
२०६२÷६३ को आन्दोलनपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले कम्युनिष्ट पार्टीबीच झगडा गराउँदा कांग्रेसको भविष्य सुनिश्चित हुने ठानेर माओवादीलाई चुनावै नलडी संसदमा एमाले बराबर सिट दिएका कारण अहिले पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसप्रति बढी नरम हुने गरेको र त्यसले आजसम्म अस्थिरता सिर्जना गरेको विश्लेषण उहाँले सुनाउनुभयो ।
विचार र सिद्धान्त मिल्ने बीचको तालमेल स्वाभाविक भए पनि गएको चुनावमा विचार, गन्तव्य र सिद्धान्त नमिल्नेहरूले गठबन्धन बनेको र सबै खालका अवसरवादलाई पराजित गर्न बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको महासचिव पोखरेलले बताउनुभयो । 
आजको राजनीतिक कार्यदिशा विकास र समृद्धि भएको र गठबन्धनबाट देश नबन्ने बताउँदै उहाँले देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेकोमा जोड दिनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– अहिलेको जनादेश विकास र समृद्धिको बाधक हो भन्ने निष्कर्षका साथ पार्टीले २०८४ मा हुने निर्वाचनमा एकल बहुमत ल्याउने योजनाका साथ मिसन–२०८४ अगाडि सारेको हो । 
पार्टीले यसै योजना अन्तर्गत पुष्पलाल मध्यपहाडी लोकमार्गमा समृद्धिका लागि सङ्कल्प यात्रा सम्पन्न गरेको र त्यो यात्रा एमालेले आयोजना गरे पनि राष्ट्रिय सङ्कल्प यात्रामा परिणत भएको उहाँले बताउनुभयो । सङ्कल्प यात्राले सामाजिक अराजकता चिर्न, जनतामा बढेको निराशा चिर्न पनि सहयोग गरेको उहाँले सुनाउनुभयो । 
पार्टीमा अराजकता र अवसरवाद मौलाउन नदिन विना कुनै मोलाहिजा शुद्धीकरण अभियान चलाइने बताउँदै महासचिव पोखरेलले नेताकार्यकर्ताको आचरण, नैतिकता र व्यवहारमा कुनै पनि मूल्यमा प्रश्न उठाउने हुन नहुने बताउनुभयो ।