detail-img

अध्यक्ष ओलीद्वारा धाप ड्याम अवलोकन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज गुहेश्वरी धाप ड्यामको अवलोकन गर्नुभएको छ  । अवलोकनपछि अध्यक्ष ओलीले ड्याम भत्किन्छ भनी विकास विरोधीले भ्रम फिजाउने काम मात्र गरेको  बताउनुभयो ।   
नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको गुहेश्वरी धाप ड्याम यात्रा समापन कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास विरोधीले विकासका काममा बाधा गर्ने र मजाक उडाउने  गरेको  बताउनुभयो । 
केही मानिसहरूले वाग्मतीको धापमा बाँधिएको बाँध भत्कियो भने काठमाडौं डुबाउँछ, पशुपति बगाउँछ भनेर भ्रामक हल्ला फिँजाउने  गरेकाले आफू धापको बाँध हेर्न पुगेको उहाँले स्पष्ट गर्नुभयो ।


काठमाडौंमा आफ्नो कार्यकालमा धरहरा बनाएर उद्घाटन गरेको बताउँदै अध्यक्ष ओलीले विकास विरोधीहरूलाई धरहरा बनेकोमा पनि चिन्ता छ भन्नुभयो । 
उहाँले आफूले आज धापमा बनेको ताल हेरेको र त्यो ताल भत्किने अवस्थामा नरहेको बताउनुभयो । उहाँले दुनियाँमा यस्ता ठुला ताल र ड्याम बनेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले काठमाडौंवासीलाई धाप ड्याम नभत्किने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो । 
अध्यक्ष ओलीले नेकपा (एमाले) विना देश बन्दैन भन्ने कुरा पुष्टि भइसकेको बताउँदै अन्य दलले २० वर्षमा नगरेको काम एमालेले एक वर्षमा नै गरेर  नेपाली जनतामा आशा र उत्साह जगाउने काम गरेको विगत आफ्नो कार्यकाल स्मरण गर्नुभयो ।  
गएको निर्वाचनमा एमालेलाई कम मत दिएर गल्ती गरिएछ भन्ने कुरा अहिले नागरिकले महसुस गरिरहेका र आउने निर्वाचनमा जनताले एमालेलाई एक्लै सरकार बनाउन पुग्ने मत दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । 
नेकपा (एमाले)ले राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा काम गरेको उहाँले बताउनुभयो । अहिलेको समस्या समाधानको लागि एमालेले सरकारलाई लगातार सुझाव दिएको भए पनि सरकारले काम नगरेको उहाँले प्रष्ट पार्नुभयो ।  
अध्यक्ष ओलीले काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्चीको मात्रै भर पर्न नहुने बताउनुभयो । बाढीले मेलम्ची बगाएपछि त्यसको पनि विकल्प खोज्नु पर्छ भन्ने सिकाइ भएको उहाँले बताउनुभयो । काठमाडौं उपत्यकाका खोलाहरूमा सयौँ ड्याम बाँध्न सकिने उहाँले प्रष्ट पार्नुभयो । यसले खानेपानीको वैकल्पिक व्यवस्थाको साथै वातावरण संरक्षणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।