detail-img

सरकारले मेलम्चीवासीका माग  सम्बोधन गर्नुपर्छः उपाध्यक्ष पाण्डे 

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मेलम्चीवासीका माग सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।  
नेकपा (एमाले) खानेपानी तथा सरसफाइ विभागद्वारा शुक्रबार मेलम्चीमा आयोजित अनुगमन कार्यक्रममा उपाध्यक्ष पाण्डेले मेलम्ची  खानेपानी आयोजना र मेलम्चीमा आएको बाढीबाट प्रभावित भएकाको माग सरकारले सम्बोधन गर्नुपर्ने  बताउनुभयो ।


सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –१ अम्बाथानस्थित मेलम्ची खानेपानीको मुहान स्थलगत अनुगमन गर्न गएको टोलीका तर्फबाट स्थानीयसँग भएको छलफलका क्रममा उपाध्यक्ष पाण्डेले मेलम्ची आयोजना तथा २०७८ सालमा आएको मेलम्चीको बाढीबाट प्रभावित बनेका स्थानीयका माग सम्बोधन गर्न एमालेले पहल गर्ने बताउनु भयो । उहाँले प्रभावित स्थानीयको बसोबास र खेतीपातीका लागि सरकारले पहल गर्नुपर्ने प्रष्ट पार्नुभयो । 
मेलम्ची खानेपानी तथा बाढी पीडित सङ्घर्ष समितिको ज्ञापनपत्र बुझ्दै उपाध्यक्ष पाण्डेले बाढीबाट प्रभावित स्थानीयका जायज माग सम्बोधन गराउन पार्टी निरन्तर लाग्ने बताउनुभयो । 
खानेपानी, सहरी विकास, भौतिक पूर्वाधार, गृह र अर्थ लगायत सरोकारवाला सबै मन्त्रालयको ढोका ढोकामा स्थानीयलाई लिएर एमाले पुग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उपाध्यक्ष पाण्डेले भन्नुभयो– तपाईँहरूले काठमाडौँलाई पानी दिन्न भन्नु भएको पक्कै होइन, तपाईँहरूका आफ्ना समस्या छन्, बाढीले सिर्जना गरेका समस्यामा तपाईँहरू पर्नुभएको छ, यस कारण तपाईँहरूले उठाउनु भएका माग जायज छन् ।
छलफलमा पार्टीकी पोलिटव्यूरो सदस्य, खानेपानी तथा सरसफाइ विभाग प्रमुख विमला घिमिरेले मेलम्ची खानेपानी परियोजनालाई दिगो बनाउन मेलम्चीकाबासीको भावना र माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । स्थानीयका समस्या बुझ्न पार्टीले स्थलगत अवलोकन भ्रमण गरेको विभागका सचिव डी आर बशिष्ठले बताउनुभयो ।  
टोलीमा पार्टीका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठ, पूर्वमन्त्री शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभा सदस्य अमनकुमार मास्के, रघुनाथ महर्जन, जयराम थापा, केशवप्रसाद पोखरेलसहित विभागका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।