detail-img

कुशासन, अनियमितता र भ्रष्टाचारले राष्ट्र कमजोर अवस्थामाः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले एउटा पनि गतिलो काम गर्न नसकेको बताउनुभएको छ । 
आइतबार नेकपा (एमाले) कैलाली जिल्ला कमिटीको नवौँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार निकम्मा भएको बताउनुभयो । 
प्रधानमन्त्रीले एउटा पनि देखाउन लायक काम नगरेको र  सरकार निकम्मा भएकाले अब पनि केही काम गर्न नसक्ने अध्यक्ष ओलीले बताउनुभयो ।


प्रधानमन्त्री प्रचण्डले पटक पटक सच्चिने कुरा गर्नुभएको भए पनि अब उहाँले सच्चिने  सम्भावना नरहेको भन्दै अध्यक्ष  ओलीले प्रश्न गर्नुभयो– ७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने ?  
उहाँले अहिले राष्ट्र निकै कमजोर अवस्थामा पुगेको, देशमा कुशासन, अनियमितता र भ्रष्टाचार बढेको तथा राष्ट्रिय स्वाभिमान सङ्कटमा परेको बताउनुभयो ।   
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा शुरु गरेका काम सरकारले रोकेको र विकासका सबै काम ठप्प पारेको बताउनुभयो । उहाँले सरकार विकासका सबै काम ठप्प बनाएर भ्रष्टाचार र तस्करीको काममा लागेको भनाइ राख्नुभयो ।  
अध्यक्ष ओलीले अधिवेशनबाट सक्षम र योग्य नेतृत्व चयन गर्न र गुटबन्दी नगर्न आग्रह गर्नुभयो ।
अधिवेशन उद्घाटन समारोहमा पार्टीका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, सचिव लेखराज भट्ट, नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटव्यूरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज गणेश ठगुन्ना, पोलिटव्यूरो सदस्य नारदमुनि राना लगायत नेताहरूले शुभकामना दिनुभएको थियो । उद्घाटन कार्यक्रम नेकपा (एमाले) कैलाली जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


अध्यक्ष ओलीले यस अघि कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन  गर्नुभएको थियो । भवन उद्घाटन गर्दै अध्यक्ष ओलीले गाउँपालिकालाई कुराको होइन विकासको नेता हुन आग्रह गर्नुभयो ।  
उहाँले व्यावसायिक कृषि उत्पादनबाट मात्र समृद्धिको सपना साकार हुने बताउँदै नयाँ प्रविधिको प्रयोगले कृषि उत्पादन बढाउन सकिनेमा जोड दिनुभयो ।